बेल्जियम फिफा विश्वकप २०१८ का लागि छनोट हुने पहिलो युरोपेली देश बन्न पुगेको छ।
युरोप छनोटअन्तर्गत समूह ‘एच’ को खेलमा ग्रिसलाई २–१ ले पराजित गर्दै बेल्जियमले रुसमा आगामी वर्ष हुन विश्वकपका लागि टिकट पक्का गरेको हो।
दुई खेलअघि बेल्जियमलाई विश्वकपमा छनोट गराउँन जान भेट्रोगेनले ७० औं तथा रोमेलु लुकाकुले ७४औँ मिनेटमा गोल गरे। चार मिनेटमा तीन गोल भएको खेलमा ग्रिसका लागि ७३औँ मिनेटमा जेकाले बराबरी गोल गरे।
बेल्जियम २०१८ को विश्वकपमा छनोट हुने छैटौ टोली हो। यसअघि एसियाबाट जापान र इरान, उत्तर अमेरिकाबाट मेक्सिको तथा दक्षिण अमेरिकाबाट ब्राजिल छनोट भइसकेको छ। आयोजक रुस सिधै छनोट भएको हो।
समूहमा शीर्ष स्थानमा रहेको बेल्जियमको ८ खेलबाट २२ अंक छ। दुई खेल बाँकी छदा दोस्रो स्थानको बोस्निया र हर्जगोभिनाले समान खेलबाट १४अंक मात्र जोड्दा बेल्जियम विश्वकपमा छनोट भयो। बोस्नियासँगै १३ अंक जोडेर तेस्रो स्थानमा रहेको ग्रिस र १० अंक जोडेर चौथो स्थानमा रहेको साइप्रसको ‘प्ले अफ’ मार्फत विश्वकपमा छनोट हुने सम्भवाना बाँकी छ। समूहमा दोस्रो हुने टोलीले ‘प्ले अफ’ खेल्न पाउनेछ।
समूह ‘ए’ को छनोट रोमान्चक बनेको छ। अन्तिम दुई बाँकी रहदा शीर्ष स्थानको फ्रान्सको १७, दोस्रो स्थानको स्विडेनको १६ र तेस्रो स्थानको नेदरल्यान्ड्सको १३ अंक छ। आठौं चरणको खेलमा फ्रान्सलाई लक्जेम्बर्गले गोलरहित बराबरीमा रोक्यो। बेलारुसलाई ४–० ले हराउँदै स्विडेनले विश्वकप छनोट हुने सम्भावना कायमै राख्यो। बुल्गेरियामाथि ३–१ को जित निकालेपछि नेदरल्यान्ड्सले पनि विश्वकपमा छनोट सम्भावना जीवितै राख्न सफल भयो। नेदरल्यान्ड्सको जितमा ड्याभी प्रोपरले सातौं र ८०औं तथा आर्जेन रोबिनले ६७औं मिनेटमा गोल गरे।
समूह ‘बी’बाट स्विट्जरल्यान्ड छनोट नजिक पुगेको छ। स्विट्जरल्यान्डले लाभितालाई ३–० ले पराजित गर्यो। यता पोर्चुगलको विश्वकपमा सिधै छनोट हुने सम्भवाना न्यून बनेको छ। आठौं चरणमा पोर्चुगलले हंगेरीलाई १–० ले पराजित गर्यो। पोर्चुगलको जितमा आन्द्रेस सिल्भाले गोल गरे। समूहको शीर्ष स्थानको स्विट्जरल्यान्डको २४ तथा दोस्रो स्थानको पोर्चुगलको २१ अंक छ। तेस्रो स्थानको हंगेरीले १० अंक मात्र जोडेपछि शीर्ष दुई मध्ये एक टोली सिधै विश्वकपमा र एक टोली ‘प्ले अफ’ मा पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।