धनगढी– ‘नेपाल–भारत सीमा छुट्याउने ७ सय २३ नम्बरको पिल्लरअन्तर्गत रहेको दशगजा क्षेत्रमै दुबैतर्फका स्थानीयबासीले खेती गरिरहेका छन्। यस विषयमा सीमा सर्भे टोलीले के गरिरहेको छ?’, कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले प्रश्न गरे।
टीकापुर नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावलको जिज्ञासा छ, ‘कैलालीको खक्रौला नाकामा भारतीय पक्षले एकलौटी ढंगले आफूखुसी पिल्लर निर्माण गरेकोबारे स्थानीयले गुनासो गरिरहेका छन्। नेपाली टोलीले निर्माण भइसकेको पिल्लरको पुनः निरीक्षण गर्छ वा गर्दैन?
त्यस्तै गुनासो राख्ने मध्येमा एक थिए, भजनी नगरपालिकाका–५ का अध्यक्ष केशव बुढा। ‘कुसुमघाटमा भारतीय पक्षले सीमा मिचेको छ। भारतीय पक्षले सीमा स्तम्भ नेपालतर्फ सारेर नेपालीको खेतीयोग्य जमिन कब्जा गरेको छ। अब के हुन्छ?’
सीमा क्षेत्रमा लगातार सास्ती भोगिरहेका स्थानीयको पीडा र भारतीय पक्षको ‘मिचाहा’ प्रवृत्तिको बारेमा आइतबार सामूहिक रुपमा जनप्रतिनिधिहरुले गुनासो गरिरहेका थिए। धनगढीमा नेपाल–भारत सीमा सर्भेक्षण टोली नम्बर ४ ले आयोजना गरेको कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरुले नेपाली प्राविधिक टोली ‘भारतीय पक्षसँग कमजोर भएको त होइन?’ भन्दै प्रश्न गरेका हुन्।
‘भारतीय पक्ष पटक–पटक आफ्नो क्षेत्रका स्थानीयहरूसँगै सीमा सर्भेक्षण गर्न आउँछन्, तर नेपाली टोलीबाट त्यस्तो तत्परता देखिँदैन’, भजनी नगरपालिका प्रमुख शेरबहादुर चौधरीले भने, ‘न त भारतीय टोलीले सीमाको सर्भेक्षण गर्दा नेपाली टोलीका कुनै सदस्य नै सहभागी हुने गरेका छन्।’
कार्यक्रममा सीमा टोलीका प्रमुख नापी अधिकृत जनकराज भट्टले ‘भर्खरै भारतमा भएको सीमा टोलीको बैठकले संयुक्त सर्भेक्षण गर्ने सहमति भएको’ जानकारी दिए। उनले विगतमा स्थापना भएका नया“ पिल्लरको पनि नेपाली टोलीले अवलोकन गर्ने बताए।
एक सय २५ पिल्लर निर्माण
नेपाल–भारत सीमा सर्भेक्षण टोलीले कैलालीमा हालसम्म एक सय २५ पिल्लर निर्माण तथा मर्मत गरिसकेको जनाएको छ।
कैलालीमा मुख्य तथा सहायक गरी २ सय ८२ वटा सीमा स्तम्भ (पिल्लर) रहेकोमा एक सय ४१ वटा मर्मत गर्नुपर्ने, ७३ वटा नयाँ पिल्लर निर्माण गर्नुपर्ने र ६८ वटा नदीमा रहेको जनाइएको छ।
टोलीका अनुसार अहिलेसम्म नेपाल पक्षले ८७ र भारतीय पक्षले ३८ वटा पिल्लर मर्मत तथा नयाँ निर्माण गरेको छ। नेपाली टोलीले विजोर र भारतीय पक्षले जोर नम्बरका पिल्लर मर्मत तथा नयाँ निर्माण गर्ने सहमति भएको थियो।
त्यसअनुसार नेपालले १५ मुख्य पिल्लरलाई सामान्य मर्मत, २ वटा नयाँ निर्माण र ६० वटा सहायक पिल्लरलाइ सामान्य मर्मत गरेको छ। त्यस्तै १० वटा नयाँ सहायक पिल्लर निर्माण गरिएको छ।
उता भारतीय टोलीबाट २० वटा मुख्य पिल्लर मर्मत र ४ वटा नयाँ पिल्लर निर्माण गरेको छ। सहायक पिल्लर अन्तर्गत ७८ वटा सामान्य मर्मत र २३ वटा नयाँ निर्माण गरेको जनाइएको छ।
कैलालीमा मुख्य पिल्लर ४ वटा राम्रो, ३ वटा पूर्ण क्षति, २५ वटामा सामान्य क्षति र २१ वटा हराएका छन्। सहायक पिल्लर १२ वटा राम्रो, ६ वटा पूर्ण क्षति, ९९ मा सामान्य क्षति र एक सय १२ पिल्लर हराएको पाइएको छ।
'स्वार्थ अनुकुल काम गरे झै–झगडा बढ्न सक्छ'
कैलाली प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले सीमा विवाद समाधान गर्न सबैले सहयोग गर्नुपर्ने बताए।
‘दुइ देशको सिमाना छुट्याउनु जटिल विषय हो’, उनले भने, ‘दुबै पक्षका टोलीहरुले प्रविधिको पूर्ण प्रयोग गर्दै वैज्ञानिक ढंगले सिमाना छुट्याउने प्रयास गरेका छन्। यसमा स्थानीय सबैले सहयोग गर्नु आवश्यक छ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले राजनीतिक दल, जनप्रतिनिधि, स्थानीय सबैले आफ्नो क्षेत्रका बारेमा यथार्थ, तथ्यपरक सूचना टोलीलाई दिन आग्रह गरे।
‘सीमानाका बारेमा गलत व्याख्या गरिए वा स्वार्थ अनुकुल काम गरे झै–झगडा बढ्न सक्छ’, उनले थपे, ‘सबैले मिलेर अघि बढे शान्ति कायम गर्न सकिन्छ।’
प्रमुख नापी अधिकृत जनकराज भट्टले नदीले रुप फेर्दा कतिपय ठाउँमा सिमाना छुट्याउन अप्ठेरो भएको बताए।
उनका अनुसार कैलालीको कालाकुन्डा, कुसुमघाट, फूलबारी लगायतका क्षेत्रमा नदीका कारण सिमाना छुट्याउन जाँदा विवाद सृजना भएको स्मरण गरे। भने, ‘टोलीले विवाद भएका कतिपय ठाउँमा पिल्लर निर्माण गरिसकेको छ भने कतिपय ठाउँमा निर्माण गर्न बाँकी रहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।