धनगढी- ‘मलाई दिनभर गाउँका कार्यक्रममा हिँडाइन्थ्यो। रातभर अँध्यारो कोठामा राखेर समूहमा आएर मेरो शारीरिक शोषण गर्थे। मैले धेरै चिच्याएँ, कराएँ, सहायता मागेँ तर, उनीहरुले उल्टै पिट्ने, नराम्रो शब्दको प्रयोग गर्ने र जोरजुलुम गर्ने गर्थे,’ १० वर्ष लम्बिएको सशस्त्र द्वन्द्वमा २१ वर्षको उमेरमा बलात्कारमा परेकी एक महिलाले आफूले भोगेको पीडालाई यसरी सम्झिइन्।
‘मलाई १७ दिनसम्म पीडा दिइयो। न राम्रोसँग उभिन सक्थेँ न त हिँड्न,' उनले पीडा सम्झँदै भनिन्, ‘१७ औं दिनमा उनीहरुले मलाई अँधेरो गोठमा बेहोस अवस्थामा छोडेर हिँडेछन्। त्यो घरको घरबेटीले गाई फुकाउन जाँदा मलाई देखेर सहायता गरे। उनैले मलाई घरसम्म फर्किने व्यवस्था बनाइदिए।’
घर फर्केपछि आमालाई उनले पीडा सुनाइन्। आमाको आँखा पनि रसायो तर उनले ढाडस दिँदै भनिन्, 'जे भए पनि भयो नानी। हिम्मत बटुलेर बाँच्नुपर्छ।'
उनी भन्छिन्, ‘जनयुद्ध त सकियो तर, त्यस समय पाएको पीडाले अझै पोल्छ।’
त्यस समय भएको शारीरिक शोषणले उनको अहिले पनि ढाड दुखिरहन्छ। पाठेघरको समस्या छ। पीडा भुल्न आफूजस्तै पीडित दिदीबहिनीलाई भेट्ने, कुरा सुन्ने र सुनाउने गरेर मन हल्का पार्ने गरेको उनी बताउँछिन्।
‘मलाई बेहोस बनाएर घरबाट जंगल लगे। खाल्डोमा उभ्याएर गोली हान्न लागेका थिए तर, माथि निकालेर जबरजस्ती बलात्कार गर्न सुरु गरे। ४० देखि ६० जना थिए जस्तो लाग्छ। म बेहोस भइसकेकी थिएँ,’ १२ वर्षको उमेरमै बलात्कारको पीडा सहेकी उनले भनिन्, ‘शरीरमा दाँतले नटोकेको ठाउँ थिएन। मलाइ शरीरभर पिसाब फेरिदिन्थे। असह्य हुन्थ्यो तर, केही गर्न सक्ने शक्ति थिएन।’
प्रहरीबाट पीडित ती महिलाले पिटाइ, दाँतको टोकाइ र दिनरातको शारीरिक यातनाले शरीर सुन्निएर रातभर सुत्न नसकेको बताइन्। ‘मलाइ डाक्टरको लगेर नदुख्ने सुई लगाइयो। झन्डै तीन महिनासम्म प्रहरीले यस्तै गरिरह्यो,’ उनले रुँदै भनिन्, ‘मेरो परिवारले एक वर्षपछि प्रहरी चौकीबाट छुट्याएर ल्याए।’
सशस्त्र द्वन्द्वका मृतक परिवारले, बेपत्ता परिवारले सबैले खुलेर आफ्ना कुरा राखे पनि आफूहरुमाथिको यौन हिंसा र बलात्कारको घटनाबारे कसैले आवाज नउठाएको उनको गुनासो छ। ‘यति चरम यातना पाउनुमा मेरो के दोष थियो? धेरै प्रश्न छन् मनमा तर, कोसँग जवाफ खोज्ने?’ उनी भन्छिन्।
बलात्कारपीडित महिलालाई समाजमा घृणाका दृष्टिले हेर्ने गरेको अधिकांश बलात्कृत महिलाको गुनासो छ। उनीहरु सम्मानपूर्वक बाँच्न चाहन्छन्। निर्दोष बालिकामाथि बलात्कार हुनु उनीहरुको दोष होइन। यो समस्यालाई सरकारले मानवीय ढंगले सम्बोधन गर्नुपर्ने उनीहरुको माग छ।
जनयुद्वका क्रममा राज्य पक्ष तथा तत्कालीन माओवादीबाट महिलाहरुले शारीरिक तथा मानसिक दुर्व्यवहार बेहोर्नुपरे पनि पीडाहरुको अझै सम्बोधन हुन नसकेको द्वन्द्वपीडित साझा चौतारीकी सुदूरपश्चिम सदस्य हिरा भण्डारीले बताइन्। ‘त्यस क्रममा हत्या गरिएका पीडित परिवार, बेपत्ता परिवारहरुलाई सरकारले राहतका कार्यक्रम ल्यायो। अझै पनि केही परिवारहरु सरकारको राहतबाट वञ्चित छन्,’ उनले भनिन्, ‘त्यसै क्रममा यौन हिंसामा परेका महिलाहरु न खुलेर आउन सक्छन् न न्यायका लागि कसैलाई गुहार्न सक्छन् भने न त सरकारले राहत नै दिन सक्यो।’
‘कलिलै उमेरमा द्वन्द्वमा बलात्कारको पीडा भोगेका महिलाको पीडा दर्दनाक छ। त्यो पीडा पोख्ने ठाउँ उनीहरुले पाएका थिएनन्। राहत र सहयोगका नाममा एक रुपैयाँ नपाएको गुनासो छ उनीहरुको।
नाटकबाट महिलाको पीडा
द्वन्द्वकालीन समयमा महिलाहरुले भोग्नुपरेको यस्तै यौनहिंसा र शान्ति सम्झौतापछिको वर्तमान अवस्थाबारे धनगढीमा नाटकमार्फत पनि झल्को दिइएको थियो।
द्वन्द्वपीडित साझा चौतारी, इक्वेल एक्सेस, द स्टोरी किचेनको आयोजना तथा धनगढी उपमहानगरपालिकाको सहआयोजनामा भएको डिजिटल कथाकथन, चित्रकला प्रदर्शनी, नाट्य प्रस्तुति कार्यक्रममा उनीहरुको पीडा, अवस्थाबारे जानकारी गराइएको थियो।
नाटक, चित्रकलाले यौनहिंसामा परेका महिलाहरुले अझै सम्म न्याय पाउन नसकेको र राज्यले त्यस कुरामा ध्यान दिन नसकेको सन्देश दिइएको थियो।
सबैले न्याय पाउनुपर्छः मन्त्री शाह
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले जनयुद्वमा विभिन्न बहानमा पीडित भएका सबै व्यक्तिले न्याय पाउनुपर्ने बताएका छन्।
‘संघीय गणतन्त्र शासन स्थापनाका लागि धेरै मानिसले ज्यान गुमाउनुपरेको थियो भने धेरै घाइते हुनुपरेको थियो। कतिपय अहिलेसम्म वेपत्ता भएका छन्,’ मन्त्री शाहले भने ‘सबैले सम्मानजनक न्याय पाउनुपर्ने वातावरण सरकारले बनाउनेछ।’ उनले पीडितलाई न्याय दिन प्रदेश, स्थानीय तहले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
‘विगतका घटनामा अल्मलिएर होइन भुलेर अघि बढ्न जरुरी छ,’ उनले भने, ‘माफी गरेर वा भुलेर अघि बढे नयाँ युगको स्थापना गर्न सकिन्छ।’ उनले घरेलु तथा यौन हिंसामा परेका पीडित महिलाहरुको घा“उमा मलम लगाएर न्याय दिनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।