काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले काँग्रेसभित्र हिन्दू राज्यको पक्षमा बहस सूरु भएकोमा आपत्ति जनाएका छन्।
प्रमुख प्रतिपक्षी दल काँग्रेस महासमितिको जारी बैठकमा हिन्दू राज्यको पक्षमा पनि बहस सूरु भईरहेका बेला अध्यक्ष दाहालले त्यसप्रति आपत्ति जनाएका हुन्।
शनिबार काठमाडौंमा ‘देश किन बनेन’ पुस्तकको विमोचन गर्दै उनले जनताको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त धर्म निरपेक्षताबाट पछि हटेको हो भने काँग्रेस समाप्त भएर जाने चेतावनी दिए।
'संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिता अहिलेको संविधानको मूख्य खम्बा रहेको उल्लेख गर्दै त्यसको एउटा खम्बा भत्काएर सिँगै घर भत्काउने दुस्साहस नगर्न पनि काँग्रेस नेतृत्वलाई आग्रह गर्छु' उनले भने।
'वर्तमान संविधानको पिता ठान्ने काँग्रेसले पार्टीका तत्कालीन सभापति सुशील कोइरालालाई ‘स्वर्ग’बाट ‘नर्क’मा झार्न हिन्दू राज्यको पक्षमा बहस सुरु गरेको छ,' अध्यक्ष दाहालको दाबी छ।
अध्यक्ष दाहालले विपी कोइरालाले स्थापना गरेको काँग्रेसले हिन्दू राज्यको पक्षमा वकालत गर्न सुहाउँछ भनी प्रश्न गरेका थिए। उनले विविधताले युक्त मुलुकमा राज्यले वा कुनै पनि पार्टीले एउटा धर्मको पक्षमा मात्रै वकालत गर्नु खतरनाक हुने तर्क पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।