'हुन त कतिलाई बोल्न मन लाग्छ कतिलाई लाग्दैन, सबैको आ-आफ्नो बानी हुन्छ। तर, बोल्यो भने धेरै कुराको समाधान हुन्छ जिन्दगीमा। म यति धेरै खुसी हुनुको रहस्य पनि यही हो।'
'जोनी जेन्टलम्यान' को रिलिज पर्खिरहेकी अभिनेत्री आँचल शर्माले आफ्नो धेरै बोल्ने बानीको रहस्योद्घाटन गरेकी छिन्।
'नाइँ नभन्नू ल ४' का लागि नायिकामा फाइनल भएपछि अर्की अभिनेत्री वर्षा राउतले भनेकी थिइन, 'आँचल धेरै गफ गर्छिन् । गफ गर्दा समय बितेको पत्तै हुँदैन।' आँचलको यही बोलिरहने बानीले उनीसँग आफू नजिकिएको वर्षाले खुलासा गरेकी थिइन। आँचल पनि आत्मविश्वासका साथ भन्छिन्- 'हो म धेरै गफ गर्छु, तर बढी गफ गर्दिनँ।'
धेरै जना आँचलको गफ गर्ने र बोलिरहने बानीको फ्यान छन्। उनै फरासिली नायिकासँग नेपाल लाइभले गरेको गफ-संवाद:
आँचल धेरै गफ गर्छिन् रे, किन होला ?
अरूले मात्र हैन, म आफै पनि भन्छु । मलाई गफ गर्न मनपर्छ, चुप लागेर बस्नै सक्दिन । चुप लागेर बस्नुभन्दा आफूलाई लागेको कुरा गर्न मनलाग्छ ।
आँचलले गर्ने गफ कस्तो हुन्छ ?
इन्फर्मेटिभ मान्छेसँग इन्फरमेटिभ गफ गर्छु । त्यस्तो छैन भने रमाइलो गफ गरेर मान्छेको टाइमपास मज्जाले गराइदिन्छु ।
हावा गफ कत्तिको दिने गरिन्छ?
त्यस्तो नचाहिँदो, हावा गफ दिन्न । सामान्यतया 'मेरो बिहे कहिले हुन्छ?' यस्तै गफ दिन्छु ।
स्कूल कलेज पढ्दा साथीभाइसँग कत्तिको हावा गफ गरिन्थ्यो?
म नभएको भन्दा पनि भएको कुरा गर्ने गफाडी हो । मै ठूलो हुँ भनेर नचाहिँदो गफ कहिल्यै गरिन र गर्दा पनि गर्दिन ।
आँचलले मनमा कुरा राख्न सक्दिन भन्छन् नि ?
हो, म सक्दिनँ । त्यही भएर मान्छेले मलाई धेरै गफ गर्ने भन्छन् । अरु मनमा कुरा खेलाउँछन्, म खेलाउँदिनँ । मनमा कुरा गुम्स्याउँदिनँ । सबै कुरा सेयर गर्छु। त्यही भएर मेरो मनमा एक प्रतिशत बोझ छैन।
कुनै दिन 'आँचल नबोल' भन्यो भने के हुन्छ ?
कसैले आँचल तँ बोलेको मन पर्दैन, नबोल् भन्यो भने नबोली बस्न सक्छु।
कति घण्टा नबोली बस्न सकिन्छ ?
जिस्केर धेरैले मलाई नबोल भन्छन् तर म पाँच सेकेन्ड पनि चुप बसेको छैन । तर, कसैले तँ बोलेको मनपर्दैन भन्यो भने म बोल्दिनँ । त्यस्तो आजसम्म परेको छैन।
कसैले भन्यो भने चित्त दु:ख छ कि दुख्दैन ?
आ-आफ्नो बानी हो । कसैलाई बोलेको मनपर्ला, कसैलाई नपर्ला । मलाई पनि अरूले एकहोरो बोलेको मनपर्दैन, झर्को लाग्छ । त्यस्तो भन्यो भने 'आइ एम फाइन' भनेर चुप लाग्छु।
घरमा कत्तिको बोलिन्छ ?
सबैभन्दा धेरै बोल्ने नै घरमा हो । मेरो बाबा-ममीलाई बोलिरहेको एकदमै मनपर्छ । उहाँहरूलाई मनपर्ने भनेकै मेरो बोल्ने बानी हो । मेरो यो बानीलाई एकदमै लच्छिनको भन्नुहुन्छ । म कहिल्यै पनि दु:खी हुन्न, हाँसिरहन्छु, बोलिरहन्छु । हुन त मलाई पनि कहिलेकाहीँ टेन्सन हुन्छ, चित्त दुख्छ, स्याड हुन मनलाग्छ । त्यो कुरा मेरो मनमा हुन्छ तर बाहिर हाँसेर नै बोल्छु, ठुस्स परेर बस्न जान्या छैन् । घर पुगेपछि दिनभरि भएको कुरा सबै सुनाउँछु । मेरो राम्रो बानी नै यही हो।
कोहीसँग नबोलेको अनुभव छ ?
सुरूमै गएर बोल्ने कुरा आउँदैन । मान्छेको हाउभाउ हेरेर बोल्ने, नबोल्ने निर्णय गर्छु । मान्छे मनपरे बोल्छु, नपरे बोल्दिनँ । बोलेको मन पराउने रहेछ भने बोल्छु, नत्र त किन बोल्नु कसैसँग ? हैन र?
आँचलले सबैभन्दा धेरै गफ गर्ने मान्छे को हो ?
बाबासँग सबै कुरा गर्छु । मलाई यसले यस्तो भन्यो, यो पत्रकारले यस्तो सोध्यो, सबै कुरा गर्छु । आज तपाईँसँग गरेको कुरा पनि भन्छु, मैले के-के जवाफ दिएँ ? प्रश्न के थियो ? सबै उहाँलाई सुनाउँछु।
आँचल धेरै बोली भनेर कसैले मुख थुन्न आएको छ ?
मुखै थुन्न त कोही आएको छैन । बोरिङ हुने खालको गफै गर्दिनँ । सधैं रमाइलो र मनोरञ्जन दिने गफ हुन्छ तर, एक-दुई जनाले भने 'हैन कति बोलेको?' भनेपछि ती मान्छेको अगाडि बोलेको छैन।
गफ गर्न मनपर्ने विषय के हो ?
म अरूको बारेमा गफ गर्ने, कुरा काट्ने गर्दिनँ । आफ्नै बारेमा गर्छु । 'हिजो यस्तो भा थियो । एउटाले यस्तो भन्यो । कस्तो सिचुयसनमा थिएँ । ओ माइ गड !' टाइपको गफ गर्न रूचाउँछु ।' धेरै मान्छेले आफ्नो कमजोरी लुकाउँछन् । म ती कुरा पनि गर्छु । मानिसहरू आफू इमब्यारेस्ड भएको, चिप्लेर लडेको आदि कुरा गर्दैनन् । म आफ्नो बेइज्जत भएको कुरासम्म नलुकाई भन्छु ।
कहिलेकाहीँ कुरा गर्दा 'ह्या बेकारमा भनेछु' भन्ने लाग्दैन?
लाग्छ नि ! धेरै बोल्ने मान्छेले कति बेला कुरा फुस्काउँछ थाहा हुँदैन । पटक-पटक 'ला मैले भन्न हुँदैनथ्यो' भन्ने अवस्था आएको छ । अप्ठ्यारोमा पनि परेको छु ।
आँचल लगातार कतिबेर बोल्न सक्छ ?
पोलिटिक्सको बारेमा बोल भन्यो भने पाँच मिनेट पनि सक्दिनँ । केटा मान्छेसँग झुक्नुपर्छ भन्यो भने २४ घण्टा हैन २५ घण्टा बोल्न सक्छु । समाजसेवाका बारेमा पनि २५ घण्टा बोल्छु । र मेरो बाबाको विषयमा पनि २५ घण्टा बोल्न सक्छु ।
अनि प्रेमको बारेमा ?
म त्यो विषयमा धेरै बोल्न सक्दिनँ । जुन विषयमा आफूलाई अनुभव छैन, त्यो विषयमा कसरी बोल्नु ? तर मान्छेको लभका बारेमा गफ गर्नुपर्यो भने म टन्नै गर्न सक्छु । १० घण्टासम्म बोल्न सक्छु ।
आफूभन्दा धेरै गफ गर्ने मान्छे भेट्या छ कि छैन ?
अहँ, अहिलेसम्म छैन । सुटिङमा पनि सबैले म बोल्दा रमाइलो मान्छन्। मामाको छोरी त मेरो गफ सुन्न घरमै बस्ने गरि आउनुहुन्छ । धेरैलाई म बोलेकै मनपर्छ।
यति धेरै बोल्ने बानी कहाँबाट आयो ?
बच्चैदेखि हो । बाबा-ममीले बच्चामा मलाई सोध्नुहुन्थ्यो रे , 'छोरी यति धेरै बोल्न कसले सिकाउँछ?' म भन्थेँ रे 'मेरो मनले'। सबैले मलाई यो आँचलले घुमाइफिराइ आफ्ने कुरा माथि पारेर बोल्न नसक्ने बनाउँछे भन्छन् । मलाई बोल्न कसैले सिकाइरहनु पर्दैन । जे होस्, आजसम्म बोल्दा हार्नुपरेको छैन।
स्कुलमा हुने वक्तृत्वकला जितेको रेकर्ड छ?
जित्थेँ । फस्ट आउँथेँ । पत्यार लाग्दैन भने प्रमाणको रूपमा मैले जितेका सर्टिफिकेट र पुरस्कारहरू देखाउन सक्छु । स्कुलमा पनि सरहरूले मेरो बोलीमा दम छ भन्नुहुन्थ्यो।
धेरै बोल्ने बानीले स्कुलमा समस्या पार्यो ?
मेरो मुख हेर्दै बोल्ने जस्तो देखिन्छ । जसका कारण पिटाइ पनि खाएको छु । बोलेर त ठिकै हो, नबोली बस्दा पनि हल्ला गर्ने यही हो भनेर पिटाइ भेटेकी छु । घरमा पनि चुप लागेर बसेको बेला कहिलेकाहीँ 'भो अब धेरै नबोल' भनेर सुन्नुपरेको छ।
बोल्नुका फाइदा के के भेटियो ?
तपाईंलाई कसैले केही भन्दा उत्तर फर्काउन सक्नुभएन भने सधैं दबिएर बस्नुपर्छ । बोल्नुभयो भने तपाईंलाई कसैले हेप्न सक्दैन । मन हलुका हुन्छ । मनमा बोझ बोकेर बस्नु पर्दैन । अरूले नोटिस गर्छन् । बोल्ने बानीले ज्ञान बढाउन मद्दत गर्छ । सबैलाई सबै कुरा थाहा हुँदैन तर केही न केही त अवश्य हुन्छ । एक-अर्काले जानेको कुरा सेयर हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।