इटहरी– भाँचिन लागेको बाँसमा मैलिइसकेका पुराना झन्डा। राजनीतिक दलको ब्यानर हेर्दा कुनै पार्टी कार्यालयमा पुगेको भान हुन्छ। ढोका र झ्याल हेर्ने हो भने पुरानो स्कुलझैं। तर, भवन वरिपरि पलाएका झार र लेउले जनयुद्धमा विस्थापित प्रहरी चौकीको झल्को दिन्छ।
वरिपरि गाईबस्तु चरिरहेका छन्। बँधुवा बाख्राहरु घाँसपानीको पर्खाइमा कराउँदै गर्दा पाठाहरु गाईबस्तुसँगै रमाउँदैछन्। कुनै घुर हो कि जस्तो पनि देखिन्छ।
तर त्यो कुनै घर या पार्टी कार्यलय होइन। न त सामुदायिक भवन या जनयुद्धमा खण्डहर चौकी। यो त हो, नेपालकै ऐतिहासिक विश्वविद्यालय– संस्कृत विश्वविद्यालय।
OOO
सुनसरीको धरानमा छ, पिण्डेश्वर क्याम्पस। २००४ सालमा राम संस्कृत विद्यालयको रुपमा स्थापना भएको उक्त क्याम्पस दिनानुदिन खस्कँदै गइरहेको छ। १० वर्षअगाडि एक हजार विद्यार्थी अध्ययन गर्ने उक्त क्याम्पसमा हाल एक सयको हाराहारीमा मात्र विद्यार्थी छन्। वेददेखि व्याकरणसम्म पढाइ हुने पहिलो संस्कृत विश्वविद्यालय मानिन्छ, पिण्डेश्वर क्याम्पस।
राजनीतिक चलखेलले क्याम्पस कसरी अस्तव्यस्त बन्छ भन्ने ज्वलन्त उदाहरण हो, पिण्डेश्वर। क्याम्पसको स्वरुप जति फोहोर छ, त्योभन्दा भद्रगोल छ यहाँको प्रशासन।
पानी तथा सरसफाइको अभावमा क्याम्पसको होस्टेल गाईगोठ जस्तो देखिन्छ। वरिपरि झार उम्रिएकाले मच्छड तथा सर्पको कारण विद्यार्थी आतंकित हुने गरेका छन्।
कक्षा १२ मा व्याकरण पढ्दै गरेका महेश अधिकारी पनि सोही होस्टेलमा बस्छन्। क्याम्पस प्रशासनलाई बारम्बार होस्टेलको समस्या सुनाउँदा पनि पनि केही सुधार नभएको उनले बताए।
दैनिकजसो खानेपानी र शौचालयकै बारेमा सोच्नुपर्ने विद्यार्थीको गुनासो छ। क्याम्पस आसपासको खाली जग्गामा शौच गर्नुपर्ने बाध्यतामा छन्, उनीहरु।
‘दैनिक स्नान गर्नुपर्ने हुन्छ तर खानेपानी नै नभएपछि नित्यकर्ममा समस्या,’ विद्यार्थी भुपाल सापकोटा भन्छन्, ‘बर्खामा केही सहज भए पनि हिउँदको समयमा सेउती खोलाको पानी पिउनुपर्छ।’
झारजंगल र लेउले जीर्ण बनेको भवनलाई विद्यार्थी संगठनका झन्डा र ब्यानरले झनै कुरुप बनाएको छ। त्योभन्दा कुरूप छ, प्रशासनको राजनीति।
उपकुलपति कुलप्रसाद कोइराला विश्वविद्यालयमा प्रति एकरती संवेदनशील नभएको विद्यार्थीहरुले गुनासो गरे। उनी बाह्रैकाल काठमाडौंमै बस्छन्। धरान आए पनि क्याम्पसको अवस्थाको बारेमा उनी चासो राख्दैनन्।
नेपाली कांग्रेस निकट उनी आफ्ना मान्छेको भर्ती केन्द्रको रुपमा विश्वविद्यालयलाई रुपान्तर गर्ने पक्षमा देखिन्छन्।
तर, कोइरालाको योजना असफल बनाउन लागेका छन् कुलसचिव कार्तीकेय झा। उनी पनि नेपाली कांग्रेस निकट नै हुन्। तर, उनी मधेसी समुदायको बाहुल्य प्रशासनमा हुनुपर्ने भन्दै कोइरालको विरुद्धमा छन्। यही राजनीतिका कारण विश्वविद्यालय लामो समयदेखि कर्मचारी अभावमा चलिरहेको छ। अभाव कर्मचारीको मात्र होइन, विश्वविद्यालयले पाउने अनुदान लगायत रकम खर्च हुन नसकेर फ्रिज हुने अवस्थामा पुगेको छ।
उपकुलपति र सचिवबीचको रस्साकस्कीको फाइदा अरुले पनि लिइरहेका छन्। फलस्वरुप केही प्राध्यापक बिनाकामको तलब खाइरहेका छन्। उपकुलपति र कुलसचिवबीचको भागबण्डाका अलावा विश्विद्यालय सेवा आयोगमा रहेका नेकपा निकट कर्मचारीलाई भाग नमिल्दा विश्वविद्यालय कर्मचारीविहीन बन्दै गएको हो।
प्रशासनिक भवन ठप्प, विद्यार्थी संगठन भाग खोज्दै
तीन वर्षदेखि प्रशासनिक भवन ठप्प छ। जहाँ पूर्णकालीन प्राचार्य नियुक्तिको मागमा नेकपा निकट प्रगतिशील प्राध्यापकहरुले ताला लगाएका छन्। उनीहरू आफू आशङ्कित भए पनि पूर्णकालीन हुनुपर्ने र घरैमा बसेर भए पनि सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमै छन्। जसको अझैसम्म कुनै सुनुवाइ हुन सकेको छैन। तीन महिनाका लागि नियुक्ति भएका प्राध्यापक तीन वर्षदेखि तलब खाइरहेका छन्।
आफूहरु पूर्णकालीन नभए कुनै पनि कर्मचारी भर्ना गर्न नदिने उनीहरुको माग छ। क्याम्पस प्रमुख चन्द्रमणि नेपालका अनुसार लेखा शाखा, पुस्तकालय र परीक्षा शाखामा कर्मचारी नहुँदा दैनिक काममा समस्या परिरहेको छ। 'अधिकृत स्तरका पाँच र नायबसुब्बा स्तरका दुई कर्मचारी आवश्यक परे पनि राजनीतिक भागबण्डाले गर्दा समस्या परिरहेको छ,' उनी भन्छन्।
साहित्य, धर्मशास्त्र र वेद विषयका विद्यार्थी कम भए पनि त्यही विभागका प्राध्यापक धेरै छन्। सकेसम्म नपढाउने र पढाए पनि एक दिन आएर गेसपेपर घोक्न लगाउने प्राध्यापक धेरै रहेको एक विद्यार्थीले सुनाए।
नियमित पढाइ नहुने र प्रशासनिक सुधार नभएको कारण हरेक वर्ष विद्यार्थी सङ्ख्या घट्दो छ। कक्षा ११ देखि आचार्यसम्ममा ५० जना मात्र नियमित विद्यार्थी छन् भने त्यही हाराहारीमा कर्मचारी र प्राध्यापक तलब खाइरहेका छन्। पहिला भर्ना गर्न सोर्स लगाउनुपर्ने विद्यालयमा अहिले विद्यार्थी ल्याइदिन सोर्स लगाउनुपर्ने अवस्था सिर्जना भएको छ।
कुलपति र प्रशासनमा मात्र होइन विद्यार्थी संगठन पनि भागबण्डामै चलिरहेका छन्। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन सकेको छैन। त्यसैले विद्यार्थी संगठन भागबण्डा खोज्दै बस्दै गरिरहेका छन्।
एकापसको झगडा र खिचातानीले क्याम्पस दयालाग्दो अवस्थामा पुगेको छ। क्याम्पसको आफ्नो नाममा रहेको १८ बिघा जग्गा अनुत्पादक काममा प्रयोग भइरहेको छ। जग्गा भाडामा लगाउने र आन्तरिक आम्दानी गर्ने भन्ने कुरा चले पनि कसलाई भाडामा दिने भन्नेमा भागबण्डा नमिल्दा प्रक्रिया रोकिइराखेको क्याम्पस प्रमुख नेपाल बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।