काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसमक्ष ‘प्रिन्सिपल एसोसिएसन अफ नेपाल’ (पान)ले विद्यालय शिक्षा ऐन छिटो जारी गरिनुपर्ने लगायत विद्यालय क्षेत्रका सुधारसँग सम्बन्धित विषयमा ध्यानाकर्षण गराएको छ ।
सो एसोसिएसनका अध्यक्ष सुदामप्रसाद गौतमको नेतृत्वमा गएको टोलीले मन्त्री पोखरेललाई १० बुँदे सुझाव पत्र हस्तान्तरण गरेको हो ।
पानले पर्याप्त लगानी गरेर विद्यालय शिक्षामा रूपान्तरण ल्याउन, सामुदायिक विद्यालयमा पुन:जागरण अभियान सञ्चालन गर्न, परीक्षा प्रणालीलाई डिजिटल प्रविधिमा आधारित सरलीकृत बनाउन, समयानुकूल र व्यवहारिक पाठ्यक्रम बनाउन, विद्यालयलाई डिजिटल लर्निङ हब बनाउन, शिक्षकको क्षमता विकास र उत्प्रेरणा दिन, शिक्षक दरबन्दीको असन्तुलन मिलाउन सुझाव दिएको छ ।
सुझाव ग्रहण गरेपछि मन्त्री पोखरेलले शिक्षा सुधारका लागि उपयोगी सुझावहरूलाई मनन गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।