गत वर्ष मंसिर १० मा हिमाली तथा उच्च पहाडी जिल्ला तथा २१ मा बाँकी जिल्लामा संसदीय निर्वाचन सम्पन्न भएको एक वर्ष पुगेको छ। बाम गठबन्धन र प्रजातान्त्रिक गठबन्धन गरी मुख्यतः दुई पक्ष चुनावमा होमियो। निर्वाचन अघि नै बाम गठबन्धनले जित हात पार्ने अनुमान गरिएको थियो, जुन अनुमानलाई निर्वाचन परिणामले सहि सावित पनि गर्यो।
संविधान घोषणापछि भारतले नेपालमा लगाएको नाकाबन्दीका विरोधमा तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पक्षपाती टिप्पणीले लोकप्रियता पायो। ओलीले अंगीकार गरेको लगातारको ‘राष्ट्रवाद’उन्मुख अभिव्यक्ति चुनावमा बाम गठबन्धनलाई जित हात पार्ने आधार बनेको थियो।
यसका साथै दुई ठूला कम्युनिष्ट पार्टी तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को निर्वाचनमा कार्यगत एकता तथा कालान्तरमा पार्टी एकीकरण गर्ने चर्चाले बाम गठबन्धनले निर्वाचनमा विजयी हासिल गर्ने पूर्वानुमान गरिएको थियो।
देशमा राजनीतिक स्थायीत्व र विकासको नारा दिएर निर्वाचनमा गएको बाम गठबन्धनले निर्वाचन परिणामपछि फागुन ३ गते सरकार गठन गर्दा सायदै कसैलाई केपी शर्मा ओलीको यो सरकार यति आलोचित हुन्छ भन्ने लागेको थियो। सरकार गठन भएको सय दिन अर्थात ‘हनिमुन पिरियड’मा यातायात क्षेत्रमा विद्यमान सिन्डिकेटविरुद्ध कदम चाल्दा जनताबाट सरकारी कदमको प्रशंसासमेत भयो।
दोस्रो जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला सरकारको मुख्य लक्ष्य संविधानसभाको निर्वाचन गर्नु थियो, जुन पूर्व निर्धारित समय सार्दै भए पनि पूरा भयो। त्यसपछि बनेका सरकारका काम संविधान निर्माण गर्नु थियो। अन्ततः संविधानसभाको दोस्रो पटकको निर्वाचनपछि मात्रै संविधान बन्ने वातावरण बन्यो।
संविधान निर्माणपछिको अवस्थामा संविधान कार्यान्वयन सरकारको मुख्य दायित्व बन्यो। पटक–पटक सरकार परिर्वतन भए पनि यसले पनि मूर्तरुप पायो। त्योसँगै नेपालको राजनीतिमा लामो समयदेखि व्याप्त संक्रमणकालीन अवस्था अन्त्य हुनपुग्यो। सोपश्चात् केपी शर्मा ओली शक्तिमा आए। ओली सरकारको मुख्य दायित्व देशमा राजनीतिक स्थायित्व कायम गर्नु तथा विकास गर्नु नै हो।
दुई तिहाई जनमतसहित बनेको वर्तमान सरकारले राजनीतिक स्थायित्व प्रदान गरे पनि विकासका काममा भने आशालाग्दो तवरले काम गर्न सकेको छैन। सरकारले काम गर्न नसक्दा आलोचना र विवादमा पर्नु समान्य हो। जुन कुरालाई प्रधानमन्त्री ओलीले भने स्विकार्न सकेको देखिँदैन। आफूले गर्न नसकेको कामको दोष सरकारले अरुलाई थोपर्ने हर्कत गरिरहेको छ।
अर्कोतर्फ गलत विवरणको जगमा तयार सरकारी कामको आत्मरतिमा रमाउनु सरकारको नियती नै बनेको छ।
समाजलाई फासीवाद उन्मुख बनाउन सरकार नै क्रियाशील?
प्रधानमन्त्री ओलीले बुधबार एक टिभी कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’मा आफू र सरकारविरुद्ध अभिव्यक्ति दिने बुद्धिजीवीलाई थला पार्ने चेतावनी दिए। विशेषगरी मंसिर १५–१६ गते काठमाडौंमा सम्पन्न ‘एसिया प्यासिफिक समिट’को सह–आयोजक बन्नु, निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसक्नु, र सरकार गठन भएको ९ महिनासम्म पनि प्रभावशाली काम गर्न नसक्नु लगायतका आरोप आइरहँदा प्रधानमन्त्रीले बुद्धिजीवीलाई आफू र सरकारविरुद्ध अभिव्यक्ति नदिन चेतावनी दिएका हुन्।
प्रधानमन्त्री ओलीले बुद्धिजीविलाई दिएको यो चेतावनी पहिलो भने होइन। गत फागुनमा दोस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएपछि पनि उनले बद्धिजीवीप्रति लक्षित ‘शब्द वाण’ प्रयोग गरेको यो तेस्रो पटक थियो। पहिलो पटक गत बैसाख १० गते तत्कालीन एमाले पार्टी कार्यालय धुम्बाराहीमा पार्टी प्रवेशको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बुद्धिजीवीलाई ‘मुसा’को संज्ञा दिएका थिए भने गत साउन ७ गते काठमाडौंको सभागृहमा आयोजित पुष्पलाल श्रेष्ठको ४०औँ स्मृतिसभालाई सम्बोधन गर्दै बुद्धिजीविप्रति ‘माया लाग्ने’ बताएका थिए।
प्रधानमन्त्री ओलीले आफ्नो सरकार र आफूइतर विचार प्रवाह गर्ने व्यक्ति तथा पक्षहरूप्रति निरन्तर प्रहार गर्दैगर्दा कतै यो सरकार हाम्रो समाजलाई फासीवाद उन्मुख बनाइरहेको त छैन? प्रश्न उठ्नु स्वभाविक छ।
सरकार किन फासीवादीे?
फासीवादी व्यवस्थामा आफ्नो व्यवस्थाविरुद्ध हुने सत्यलाई अपभ्रंस गरी आफ्ना अनुयायीमाझ नयाँ (आफू निर्मित) सत्यलाई बढावा दिने गरिन्छ भन्ने आरोप लाग्ने गर्छ। एक कार्यक्रममाझ प्रधानमन्त्री ओलीले आफ्ना कार्यकर्तालाई देशमा विकास निर्माणको कार्यले तीव्रता लिइरहेको बताएका थिए। त्यसको उदाहरणका रुपमा कलंकी–नागडुङ्गा सडक खण्डलाई हेर्न आग्रह पनि गरेका थिए। तर, प्रधानमन्त्रीले दिएको उदाहरण, कलंकी–नागडुङ्गा सडक खण्डको हालको अवस्था हेर्ने हो भने देशको विकासको गतिको सोझै अनुमान लगाउन सकिन्छ।
फासीवादले आफ्नो विचारइतरका विचार राख्नेहरूलाई (कन्फम अर एल्स) शत्रुको रुपमा व्याख्या गर्छ। जसले गर्दा उनीहरू निरकुंशजस्तो प्रतित हुन्छन्। तर, सबै निरकुंश शासकले फासीवादलाई नै प्रश्रय दिन्छन् भन्ने हुँदैन। फासीवादको अर्को विशेषता भनेको हिंसामा बढी भर पर्नु हो।
निर्मला पन्त हत्या प्रकरणपछि लामो समय हत्यारा पक्रिन असफल सरकारविरुद्ध स्वतन्त्र रुपमा निकालिएको र्यालीमा धरपकड गर्दा होस् अथवा गोविन्द केसीले गत साउनमा जुम्लामा बसेको १५औँ आमरण अनसनको अन्त्यका लागि दिइएको हदैसम्मको दबाब, सरकारले शक्ति प्रयोगलाई प्रश्रय दिइरहेको प्रतित हुन्छ।
भनिन्छ, फासीवादीहरू आत्मरतिमा बढी रमाउने गर्छन्। गत मंसिर ११ गते समाजिक सुरक्षा कार्यक्रम घोषणा गर्दा सरकारले जुन किसिमको प्रचारशैली अपनायो, त्यसमा सरकारले बढी आत्मालाप गरेको देखिन्छ। गठन भएको ९ महिनासम्म आसातित काम गर्न नसेकेको सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणालाई नै आफ्नो प्रमुख सफलताको रुपमा व्याख्या गर्ने कोसिस गरेको थियो।
फासीवादी समाजमा बस्ने मानिसहरूको स्वतन्त्रता र विचार अभिव्यक्त गर्न पाउने अधिकार कण्ठित गराइन्छ। देश र खासगरी सरकारका विरुद्ध नकारात्मक अभिव्यक्ति दिन फासीवादमा निषेध नै गरिएको हुन्छ। नेपालका वुद्धिजीवीहरूलाई प्रधानमन्त्रीले बारम्बार आफूविरुद्ध अभिव्यक्ति नदिन चेतानी दिइरहँदा त्यसले सरकार फासीवाद उन्मुख त भएको छैन भन्ने प्रश्न उठाएको छ।
फासीवादको इतिहास
विश्व इतिहासको अध्ययन गर्दा फासीवादसँग फ्रान्सेली क्रान्ति जोडिएको पाइन्छ। उक्त क्रान्तिअन्तर्गत ज्याकोवियन संघर्षमा एक राजनीतिक क्लबले सञ्चालन गरेको मोर्चाबन्दीबाट फासीवादी विचारको उदय भएको मानिन्छ। तर, फ्रान्सेली क्रान्तिसँग फासीवाद जोडिए पनि यस व्यवस्थाको आधिकारिक उदय भने सन् १९१५ बाट भएको पाइन्छ। इटालीका शासक बेनिटो मुसोलिनीले फासीवादी विचारलाई राजनीतिक विचारका रुपमा अघि बढाएको इतिहास छ। विशेषगरी पहिलो विश्वयुद्धका क्रममा फाँसीवादी विचारका माध्यमबाट नै मुसोलिनीजस्ता शासकले नागरिकलाई युद्धको आवश्यकता र सहभागिताका विषयमा प्रोत्साहित गर्ने गर्थे।
मुसोलिनीले ‘इटालियन समाजवादी पार्टी’ परित्याग गरेपछि स्थापना गरेको ‘फासी अफ रिभोलुस्नरी एक्सन’ समूह र ‘द पिपुल अफ इटाली’ नामको पत्रिकाका माध्यमबाट आफ्ना कामलाई गति दिन थाले। जसको माध्यमबाट इटालीले पहिलो विश्वयुद्धमा आफ्नो व्यापक उपस्थिति देखाउन पनि सफल भयो। मुसोलिनीले स्थापना गरेको फासीवादी राजनीतिक विचारधाराले उग्र–राष्ट्रवादलाई बढावा दिने गर्छ।
उग्रराष्ट्रवादी विचारलाई फाँसीवादको कारक मानिन्छ। यद्यपि, सबै राष्ट्रवादी विचारले फाँसीवादको यात्रा तय गराउँदैन। २०७२ को भारतीय नाकाबन्दी अघि नेपाली जनताका माझ खासै राम्रो छवि नबनाएका तत्कालीन एमाले अध्यक्ष ओलीले भारतीय नाकाबन्दीविरुद्ध राष्ट्रियताको नारालाई बढावा दिँदै लोकप्रियताको शिखर चढेका हुन्। तत्कालीन समयमा पहिलो पटक प्रधानमन्त्रीको सत्ता आरोहण गरिरहेका उनले भारतले दिएको राजकीय भ्रमणको निम्तोलाई पनि अस्वीकार गरे। बरु, उल्टै नाकाबन्दीको विरोध गरे।
प्रधानमन्त्री नियुक्त भएपछि भारत भ्रमणमा जाने पुरानै प्रचलनलाई नाकाबन्दी नहटेसम्म स्वीकार नगर्ने उनको अडान सफल पनि भयो।
पर्दापछाडि प्रधानमन्त्री ओलीको भारतसँग कस्ता कुरा भए र हुने गरेका छन्, ती नेपाली जनतामाझ नखुले पनि भारतले नेपालमा देखाउने ‘दादागिरि’सामु नझुक्ने नेताको छवि ओलीको थियो। मधेस आन्दोलन र भारतीय नाकाबन्दी दबाउन ओलीले जुन भूमिका खेले, त्यही भूमिकाको आधारमा हालको दुई तिहाई सरकार उभिएको कुरा सत्य हो।
यसबीचमा ओली सरकारले चीनसँग गरेको यातायात र पारवहन सम्झौताले ‘पहाडी’ समुदायमाझ उनलाई ‘क्रान्तिकारी नेता’को रुपमा दर्शाएको बताइन्छ। तर, तत्कालीन समयको उग्रराष्ट्रवादको नकारात्मक प्रभाव नेपालमा जुन कुनै समय देखिने सक्ने सम्भाव्यता कसैसँग लुकेको छैन।
राजनीतिक स्थायित्व र विकासको मुल एजेण्डा लिएर सरकारको बागडोर सम्हालेको ‘ओली एन्ड कम्पनी’ले काम गर्न नसकेपछि हिजोआज एकअर्कामाथि आरोप/प्रत्यारोपमा समय खर्च गर्न थालेको छ। सुन तस्करीदेखि निर्मला पन्त हत्या प्रकरणसम्म आइपुग्दा सरकार फासीवादी शैलीमा गलतलाई सत्य र सत्यलाई गलत बनाउन उद्धत बनेको प्रष्ट हुन्छ।
फासीवादकाे अर्थ र ओली सरकार
मुसोलिनी आफूलाई गौरवका साथ फाँसीवादी भन्ने गर्थे। शाब्दिक अर्थमा फासीवाद शब्द इटालियन शब्द ‘फासिओ’ भन्ने शब्दबाट आएको हो। ‘फासिओ’को अर्थ समूह भन्ने हुन्छ, जुन ल्याटिन भाषाको ‘फासेस’ भन्ने शब्दबाट आएको हो। ‘फासेस’ शब्दको अर्थ ‘छडीको बिटा’ भन्ने हुन्छ। ‘एउटा छडीलाई सजिलै बङ्ग्याउन सकिन्छ, तर छडीको बिटालाई बङ्ग्याउन गाह्राे हुन्छ’ भन्ने मुलभूत स्वरको जगमै फासीवाद उभिएको बताइन्छ।
सरकारविरुद्ध विपक्षी समूह र सञ्चार माध्यमबाट भएको विरोधको सामना गर्न प्रधानमन्त्री ओलीले आफ्ना कार्यकर्तालाई केही महिनाअघि एक कार्यक्रमका माझ ‘अरिङ्गालले जसरी आक्रमण गर्न’ निर्देशन दिए। अरिङ्गाल समूहमा रहने एक किरा प्रजातिको जीव हो। फासीवादको उत्पति भएको इटालियन शब्द ‘फासिओ’को अर्थ पनि समूह भन्ने हुन्छ।
प्रधानमन्त्रीले विपक्षी र सञ्चार माध्यममा आएका समाचारको खण्डन सामूहिक रुपमा गर्न दिएको निर्देशनमा प्रयोग गरेको शब्दको अर्थ र फासीवादको शाब्दिक अर्थ मिल्नु संयोग मात्रै होला त?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।