केही दिनअघि सामाजिक सञ्जालमा प्रचण्ड छोराको वियोगमा रोएको भिडियो छ्यापछ्याप्ती देख्नमा आयो। त्यो सँगसँगै पूर्वजनमुक्ति सेनाका कुलप्रसाद भट्टराई ‘कुसुम’ विष खाएर बेहोस अवस्थामा अस्पताल पुर्याइएको दु:खद खबर पनि बाहिर आयो।
_x000D_ _x000D_
यी दुई दृश्य फरक जस्तो भए पनि पृष्ठभूमि एउटै हो। दुवै दृश्यलाई हेर्दा मन भक्कानियो। र, दुई शब्द लेख्न बाध्य बनायो।
_x000D_ _x000D_
कमरेड प्रचण्ड छोरा प्रकाश दाहालको वियोगमा रुनु मानवीय संवेदनाको हिसाबले दु:खको कुरा हो। नकार्न सकिँदैन। तर, कुसुम जस्ता जनयुद्धका सिपाहीहरु विष खान विवश हुनु दु:खको कुरा मात्रै नभएर ठूलो दुर्भाग्य पनि हो।
_x000D_ _x000D_
हिजो प्रचण्डको सिद्धान्तलाई अंगीकार गरेर लडाइँको मैदानमा हजारौं सहिद भए। ती हजारौं कमरेडका आमाबुबा जो आफ्नो एक्लो सन्तान जसको सहारामा निर्भर थिए, उनै आमाबुबाका आँखा अहिलेसम्म सुक्न पाएका छैनन्।
_x000D_ _x000D_
प्रचण्डको वाणीलाई आदर्शका रुपमा स्विकार्दै तमाम ती योद्धा जसले मुक्ति या मृत्युको कसम खाएर युद्धभूमिमा अनवरत लडिइरहे। आज शान्ति प्रक्रियापछि उनै योद्धा खाडीको मरुभूमिमा तातो घामसँग संघर्ष गर्दै पसिना तपतप चुहाउन बाध्य छन्। कैयौं योद्धा मरुभूमिमा आँसु र पसिना बगाउँदाबगाउँदै काठको बाकसमा कैद भएर नेपाल फर्किन विवश छन्।
_x000D_ _x000D_
खाडी मुलुकमा प्राण त्याग्ने ती कमरेडहरुका विधवा श्रीमती र टुहुरा छोराछोरीका आँसु कति बगे होलान्? सबलांग कमरेडहरु त बाँचुन्जेलसम्म गिट्टी कुटेरै पनि जीवन गुजारा गर्लान् तर हातखुट्टा, आँखा घुमाएका घाइते योद्धा, टाउकोमा गोली लागेर मानसिक सन्तुलन गुमाएका कैयौं कमरेड, जो बाँचेर पनि प्रत्येक पल मरिरहेका छन्। के उनीहरुका आँसुभन्दा प्रचण्डको आँसु बहुमूल्य हो?
_x000D_ _x000D_
१० वर्षे जनयुद्धमा संसार बदल्ने अभिलाषा बोकेर लड्दालड्दै कैयौं योद्धा बेपत्ता पारिए। आजसम्म पनि उनीहरुको अवस्था सार्वजनिक भएको छैन। यदि ती योद्धा जीवित छन् भने सार्वजनिक गर्नुपर्यो, होइन भने सहिद घोषणा गर्नुपर्यो भन्ने कुराले ‘युद्ध कमान्डर’को हैसियतले कमरेड प्रचण्डलाई कहिल्यै पोल्यो?
_x000D_ _x000D_
अनि ती परिवार जो युद्धमा बेपत्ता आफन्तको पर्खाइमा दिन काट्दैछन्। पर्खाइको धारमा पलपल तड्पिरहेका छन्। के ती उनीहरु स्वयं पीडाको अर्को अनुहार होइनन्? के प्रचण्डको मात्रै आँसु हो?
_x000D_ _x000D_
OOO
_x000D_ _x000D_
मिडियामा आएका कालिकोट त्रिवेणी २ का कुलप्रसाद भट्टराई, रोल्पा जेल्बाङका मंगले बुढा, बर्दियाका संग्राम विक, लिलाचन विक र लक्ष्मी दर्जीहरु त केवल केही पात्र मात्रै हुन्। हिजो १० वर्षे जनयुद्धमा ‘सुप्रिम कमान्डर' प्रचण्डको साम्यवादी सपनालाई साकार पार्न लड्दै गर्दा घाइते भई मानसिक सन्तुलन गुमाएका उवा–९, रोल्पा हाल थवाङ गाउँपालिका–५ बस्दै आएका सुकबहादुर घर्ती ‘मिलन’को अवस्थामा कति दर्दनाक छ भन्ने कुरा के प्रचण्डलाई थाहा छ?
_x000D_ _x000D_
ह्विलचियरको सहारामा जीवनसँग संघर्ष गरिरहेका रुकुमका दिल घर्ती ‘शब्द’जस्ता कयौं घाइतेलाई ह्विलचियर र बैसाखीको सहारामा प्रत्येक पल तड्पिनुपरेको छ। ती दर्दनाक पीडाभित्रका आँसु के प्रचण्डको आँसुसामु केही होइनन्!
_x000D_ _x000D_
अझ जीवनसाथीको पर्खाइमा कलकलाउँदो उमेरलाई दाउमा राखेर प्रत्येक पल आँसु पिइरहेका पूर्ण पौडेलकी जीवन संगिनी सावित्रा दुरा, सुचिन्द्र महर्जनकी जीवन संगिनी रुपा महर्जन र भीम गिरीकी जीवन संगिनी टीका बास्तोला जस्ता कैयौं आफ्नो घरको सदस्यको पर्खाइमा प्रत्येक पल छट्पटाउँदै आँसुको सागरमा डुबिरहेका छन्। उनीहरुका पीडाअघि प्रचण्डको पीडा त केही होइन। सानो एउटा रुप मात्रै हो। मानवीय संवेदनाको एउटा अध्याय मात्रै।
_x000D_ _x000D_
रोल्पा जेल्बाङ –२, थर्नका मिलन बुढामगर 'कोपिला'का बुबाआमालाई एक्लो सन्तान बुढेसकालको सहारा गुमाउनुपर्दाको पीडा कति होला? नुवाकोटकी पूर्व जनमुक्ति सेनाका सूचना ब्लोन र रोल्पा इरिबाङकी यमुना पुनमगरले कमाउन गएको श्रीमान्को कमाइ होइन लास बुझ्न विवश भएको पल कस्तो भयो होला?
_x000D_ _x000D_
रोल्पा भाबाङका पूर्व जनमुक्ति सेनाका गणबहादुर पुन ‘गुराँस’ आफ्नी जीवन संगिनी रवीनालाई दाहसंस्कार गर्ने पैसा नभएर सापटी मागेरै दाहसंस्कार गर्नुपर्दाको पीडा कति दर्दनाक र हृदयविदारक थियो होला? यो कुरा सत्ता र शक्तिको आडमा नेपाली राजनीति वृत्तमा विराजमान प्रचण्डलाई थाहा छ?
_x000D_ _x000D_
उल्लिखित पात्र त केही उदाहरण मात्रै हुन्।
_x000D_ _x000D_
१० वर्ष जनयुद्धमा जीवनमरणको लडाइँ लडेका हजारौं योद्धा छन्, जसलाई यो समाजमा देश बदल्ने सपना देख्नु अभिषाप बनेको छ। जनयुद्धको उपहार अचेल गरिबी, भोक र रोग पाएका छन्। यही पीडाहरुको चाङबाट सयर गर्दैगर्दा प्रश्नहरु आफै उठ्छन्- के हिजो प्रचण्डलाई साथ दिनु नै गलत थियो? के हामीले लडेको लडाइँ सीमित मान्छेलाई सत्तामा पुर्याउनु मात्रै थियो? हिजो प्रचण्डको आदेशमा मर्न तयार हुने ती तमाम राता सिपाहीहरु जो घाइते/अपांग पनि छन्, शरीरभरि गोली र छर्रा बोकेर गरिबीसँग प्रत्येक पल लडिरहन्छन्; के उनका आँसु बागमतीको पानी, प्रचण्डको आँसु मात्रै आँसु?
_x000D_ _x000D_
मलाई लाग्छ, ती तमाम योद्धाको आँसुअगाडि प्रचण्डको पुत्रशोक एकछेउ पनि छैन। किनकि आफन्तहरुको वियोगमा छट्पटिनु त छँदैछ। सबैभन्दा ठूलो पीडा त त्यतिबेला हुन्छ, जतिबेला आफैले विश्वास गरेका मान्छेबाट घात हुन्छ। जनयुद्धताका प्रचण्डलाई आदर्श मानेर हिँडेकाहरुले उनैबाट धोका खानुको पीडा कसले वर्णन गर्न सक्ला?
_x000D_ _x000D_
यो एउटा तितो यथार्थ हो जनयुद्धको।
_x000D_ _x000D_
कुसुमले त्यसै विष खाएका होइनन्। उनलाई विष खान विवश बनाउने उनै प्रचण्ड हुन्, जसले हिजो उनी जस्ता हजारौं युवालाई मिठो सपना बाँडेर आज आफ्नो सहयात्रीहरुलाई सडकको पेटीमा छोडेर आफू महँगो गाडीमा हुइँकिइरहेका छन्। अलिशान महलमा आरामको जिन्दगी जिइरहेका छन्।
_x000D_ _x000D_
यो कहाँको कम्युनिस्ट आचरण हो कमरेड प्रचण्ड?
_x000D_ _x000D_
(लेखक टुहुरो तत्कालीन जनमुक्ति सेनाका बटालियन कमान्डर हुन्।)
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।