काठमाडौं– एएफसी एसियन कप २०१९ छनोट चरणमा दुई खेल सकिँदा नेपाल जितविहीन छ । समूह ‘एफ’ को तेस्रो स्थानमा रहेको नेपाल पहिलो खेलमा फिलिपिन्स ४–१ ले पराजित भएको थियो भने दोस्रो खेलमा यमन गोलरहित बराबरी खेलेर अंकको खाता खोलेको थियो।
यस्तो स्थितिमा मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटो हुने ताजकिस्तान विरुद्धको खेल नेपालका लागि महत्वपूर्ण छ । ताजकिस्तान विरुद्ध अंक जोड्न नसके नेपालको लागि एसिया कप यात्रा कठिन बन्नेछ । किनकि दोस्रो चरणमा बाँकी रहेका तीनमध्ये नेपालले कम्तीमा दुई जित निकाले मात्र एसिया कपमा छनोट हुने सम्भावना बाँकी रहन्छ।
नेपाल विरुद्धको खेल ताजकिस्तानका लागि पनि महत्वपूर्ण छ । सुरुवाती दुवै खेलमा पराजित भएको ताजकिस्तानले अंकको खाता खोल्न सकेको छैन। त्यसैले छनोट हुने सम्भावना जीवितै राख्न ताजकिस्तानलाई नेपाल विरुद्धको खेलमा अंक जोड्नैपर्ने बाध्यता छ । तेस्रो खेलमा पराजित भएको खन्डमा एसिया कप छनोट यात्रा कठिन बन्ने भएकाले ताजकिस्तानले नेपाललाई पराजित गर्न सम्पूर्ण शक्ति खर्चनेछ।
घरेलु मैदानमा खेल हुने भएकाले नेपालले त्यसको फाइदा उठाउन सक्छ । जापानमा ८ दिन तयारी गरेको नेपाली टोलीले अभ्यास खेलमा भने राम्रा नतिजा निकाल्न सकेन । जापानमा खेलिएका पाँच अभ्यास खेलमध्ये नेपाल तीन खेलमा पराजित भयो।
पहिलो खेलमा क्वानसेइ गाकुइन विश्वविद्याललाई २–१ ले हराएको नेपालले गाम्बा ओसाका यू–२३ टोलीसँग १–१ को बराबरी खेल्यो । बाँकी तीन खेलमा नेपाललाई अमीएटी एससीले ४–०, हेनान विश्वविद्यालयले ६–० र भिसेल कोबे यू–१८ टोलीले ४–२ ले पराजित गरेका थिए ।
एएफसी सोलिडारीटी कपको फाइनलमा मकाउलाई हराएर उपाधि जितेपछि नेपालले ९ महिनादेखि जितको स्वाद चाख्न पाएको छैन । नेपाललाई फिलिपिन्सले ४–१ र भारतले २–० ले हराएका थिए । यमनसँग भने नेपालले गोलरहित बराबरी खेलेको थियो ।
फिफा वरीयतामा नेपाल (१६९) भन्दा १८ स्थान माथि रहेको ताजकिस्तान (१५१) तुलनात्मक रुपमा बलियो टोली हो । यद्यपि ताजकिस्तानले पछिल्ला पाँचमध्ये दुई खेलमा मात्र जित निकालेको छ । ताजकिस्तानले सामना गरेका प्रतिद्वन्द्वी नेपालभन्दा स्तरीय हुन् । पछिल्लोपटक ताजकिस्तानलाई फिलिपिन्सले ४–३ र यमनले २–१ ले हराएका थिए । त्यसअघि एसियाको बलियो टोलीमध्येको एक बहराइनसँग १–१ को बराबरी खेलेको थियो भने अफगानिस्तानलाई १–० र तुर्केमिनिस्तानलाई ३–० ले हराएको थियो ।
पछिल्ला ६ खेलको तथ्यांक हेर्दा नेपालभन्दा ताजकिस्तानको खेल राम्रो छ । ताजनिकस्तानले ६ खेलमा १२ गोल गरेको छ भने नेपालले ५ गोल मात्र गर्न सकेको छ। नेपालले ८ गोल खाएको छ भने ताजकिस्तानले ९ गोल खाएको छ । पछिल्ला ६ खेलमा नेपालले प्रतिखेल ०.८३ औसतमा तथा ताजकिस्तानले प्रतिखेल २ को औसतमा गोल गरेका छन् । नजितामा भने दुबै टोली समान देखिएका छन् । दुवै टोलीले समान २–२ खेलमा जित, बराबरी र हार बेहोरेका छन् ।
फोटो: एन्फा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।