बीस वर्षअघि २०५४ सालमा नेकपा एमालेबाट नेपालगञ्ज नगरपालिकामा मेयर निर्वाचित धवल शमशेर राणा फेरि पुरानै जिम्मेवारीमा फर्किएका छन् । पहिलोपटक मेयर हुँदा उल्लेखनीय काम गरेकै कारण स्थानीय चुनावमा राप्रपा देशभर खुम्चिएको अवस्थामा पनि उनले चुनाव जिते । नेपालगञ्ज नगरपालिकाबाट उपमहानगरपालिका भएको छ । राप्रपा महामन्त्रीसमेत रहेका राणा सांसद जितेर केन्द्रमै मन्त्री हुनसक्थे । ‘नेपालका नगरपालिकामा मेयरको भूमिका’ विषयमा विद्यावारिधि गरेका राणा सहरप्रतिको मायाले आफूलाई पुरानै जिम्मेवारीमा डोर्यारएको बताउँछन्।
नेपालगञ्जस्थित उनकै होटल बाटिकामा अबका उनका कार्यभारबारे सरोजराज अधिकारी र कृष्ण अधिकारीले गरेको संवाद:
बीस वर्षपछि तपाई फेरि मेयरकै पदमा फर्किनुभयो, किन?
मान्छेको भाग्य पनि हुने रहेछ । मैले २ पटक संविधानसभाको चुनाव लडेँ । दोस्रोपटक थोरै मतले सुशील कोइरालासँग हारेँ । फेरि स्थानीय चुनाव आयो । यो आफ्नो सहर हो, आफ्नो घरबार यतै छ । यहाँका सबै आफ्ना मान्छे हुन्, माया लाग्छ । यस बीचमा सहर पूरै अस्तव्यस्त भएको छ । ५ वर्षमा यो सहरलाई फेरि ठीकठाक बनाऊँ भनेर चुनाव लडेँ र जनताको मायाले जितेँ पनि।
तपाईं राप्रपाको महामन्त्री, प्रतिनिधिसभाको चुनाव लडेर मन्त्री नै बन्न सक्नुहुन्थ्यो । किन मेयरमै रहन चाहनुभयो?
पदसँग मलाई केही लिनुदिनु छैन । जहाँ रहे पनि इमान्दारपूर्वक काम गर्ने हो । भाग्यमा उपमहानगरपालिकाको मेयर लेखेको रहेछ, ठीकै छ । पटके मन्त्री हुनुभन्दा त यही ठीक छ नि ! यहाँ न कसैले तपाईंलाई हटाउन सक्छ, न कसैले अल्पमत–बहुमतको खेल गर्नसक्छ । ५ वर्षसम्म आफ्नो ठाउँमा बसेर यहाँको विकास गर्न पाइयो । यसको आफ्नै किसिमको रमाइलो र महत्व छ।
नेपालगञ्जको विशेषता के हो?
यो मध्यपश्चिम र सुदूरपश्चिमको प्रमुख सहर हो । यसलाई कसैले नकार्न सक्दैन । केही समययता आएर शिक्षा, स्वास्थ्य र पर्यटनको क्षेत्रमा ठूलो फड्को मारेको छ । मानसरोवर घुम्न जाने कारणले पर्यटकको संख्या बढेको छ । त्यसैले एक–दुई वर्षभित्रै यहाँ २० वटा ठूला होटल बन्दै छन् । शिक्षातर्फ कुरा गर्दा धेरै स्कुल–कलेज बनिरहेका छन् । स्वास्थ्यको क्षेत्रमा पनि विशेषज्ञसहितका अस्पतालहरु बनिरहेका छन् । शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग र व्यापार गरी ५ वटा कुरामा जोड दिएर यो सहरको विकास गर्नेतर्फ मेरो ध्यान केन्द्रित हुनेछ।
नेपालगञ्जमा घुम्ने ठाउँ त कहीँ पनि छैन । यसलाई कसरी पर्यटकीय दृष्टिले आकर्षणको केन्द्र बनाउन सकिन्छ?
२० वर्षअघि मैले बनाइदिएकै हो । वाटरपार्क, रानीतलाउ, महेन्द्र पार्क, चिडियाघर बनाइदिएकै हो । हामीले छाडेपछि सबै भताभुंग भयो । यी सबैलाई ३–४ महिनाभित्रमा पूर्णरुपमा सञ्चालनमा ल्याउँछु । अहिले दुई वटा ठूल्ठूला वाटरपार्क बनाइरहेको छु । यो दुवै एक वर्षभित्रै सञ्चालनमा आउँछन्।
तपाईंले छाडेपछिका १५ वर्षमा के–के कुरा भताभुंग भए त?
पहिलो त हामीले बनाएका पार्कहरु व्यवस्थित हुन सकेनन् । बाटोघाटो भत्किए । सुशासन भएन । जनप्रतिनिधि नभएपछि बाहिरबाट आएका कर्मचारीले नगर चलाए । उनीहरुलाई यो ठाउँको के माया ? जवाफदेहिता नभएपछि काम भएन । अब हामी तीव्र गतिमा काम गर्छौं । तिहारलगत्तै नगरभित्र विभिन्न ठाउँका ८०–९० किलोमिटर जति सडकमा परियोजनाहरु सुरु हुँदै छन् । सडकमा विभिन्न दातृ निकायसहित ६ अर्बको लगानी हुँदै छ । अन्तर्राष्ट्रियस्तरको बसपार्क ८–९ महिनाभित्र बन्दै छ।
बसपार्क निर्माणको काम त निकै सुस्त गतिमा छ भनिन्छ नि !
अब म यसमा आफैं लाग्छु । ठेकेदारलाई फकाउने हो, धम्क्याउने हो, जे गरेर भए पनि ८–९ महिनामा पूरा गर्ने हो।
नगरका बजार एरियाकै सडकहरुको हालत खत्तम छ, नयाँ मेयर आएपछि खाल्डोसम्म पनि पुर्ने काम भएन भन्ने जनगुनासो सुनिन्छ, कुरा के हो?
तिहारपछि धमाधम काम सुरु हुन्छ । सडक विस्तारका लागि मिचेर बनाइएका घर भत्काउने काम भइरहेको छ । ठूलो बाटो बनाउने भनेर प्रक्रिया नै अघि बढिसकेपछि त्यसमा १५–२० लाख खर्चेर काम छैन । अब ६–८ महिनामा नयाँ बाटो निर्माण गर्ने लक्ष्य छ।
मेयरका रुपमा तपाईंका प्राथमिकता के–के हुन्?
सडक, सरसफाइ, पार्क निर्माण, भौतिक संरचना निर्माण र सुशासन मेरो प्राथमिकतामा छन्।
५ वर्षपछिको नेपालगञ्ज कस्तो बनाउने परिकल्पना गर्नुभएको छ?
नेपाली परिवेश सुहाउँदो, शान्त र सुन्दर सहर बनाउने हो । आर्थिक दृष्टिले एकदम चलायमान सहर बनाउने हो । सहर सफा राख्नुस्, शान्ति र सुशासन दिनुहोस्, लगानीकर्ता जति पनि आउँछन्। नगरपालिकाले लगानी गर्ने होइन, हामीले लगानीको वातावरण बनाइदिने हो।
कुनै बेला नेपालगञ्ज देशकै चौथो ठूलो सहरमा गनिन्थ्यो। आज नेपालगञ्ज १५–१६ ठूला सहरमा पनि गनिँदैन । किन पछि पर्यो?
राजनीतिक नेतृत्वले इमान्दारीसाथ काम गरेन । सुशील कोइरालाजी कांग्रेसको ठूलो नेता हुनुहुन्थ्यो, पछि प्रधानमन्त्री हुनुभयो । उहाँले चाहेको भए धेरै हुन्थ्यो । म अघिल्लोपटक मेयर हुँदा ढल, सडकका लागि उहाँको घरमा डेलिगेसन गएको थिएँ । उहाँलाई ‘तपाईं कांग्रेसको महामन्त्री हो, तपाईंकै दलका अर्थमन्त्री छन्, मेरो क्षेत्रमा बजेट छुट्याइदिन भन्नुहोस्’ भन्दा पनि गर्नुभएन।
नेपालगञ्जमा रिङ रोड, ड्राइपोर्ट, विशेष आर्थिक क्षेत्र र नेपालगञ्ज युनिभर्सिटी जस्ता ठूला चार परियोजना वर्षौदेखि अलपत्र छन् । किन यस्तो भएको?
यो देशमा कुनै पनि काममा लागि परिरहेन भने त्यो त्यत्तिकै अलपत्र हुन्छ । अपनत्व बोध गरेर निरन्तर लागिरहनुपर्छ । जस्तो मैले अघि पनि भनेँ, अब बसपार्क निर्माणको काममा म आफैं लागिपर्छु । एकजना इञ्जिनियरले यही रफ्तारमा गए अझै २ वर्ष पनि बसपार्क बन्दैन भने पनि मेरो जोड अब त्यतातिर छ।
पहिलो चरणको स्थानीय चुनावमा राप्रपाले खासै राम्रो गर्न सकेको थिएन । दोस्रो चरणमा तपाईले चाहिँ आफ्नो पक्षमा नतिजा ल्याउनुको कारण के हो जस्तो लाग्छ?
राम्रो गर्न सकेन होइन, पहिलो चरणमा राप्रपा सखापै भयो । एउटा मेयर पनि जित्न सकेन । यहाँ जित्छु भन्ने त मलाई थियो । पहिलो चरणको निर्वाचनको नतिजापछि केही अप्ठ्यारो भयो, नत्र म यहाँ डबलभन्दा बढी मतले जित्थेँ । देशैभरि पार्टी सखाप भएपछि यहाँ मैलाई जित्न पनि धौ–धौ भइदियो । तर, यहाँका जनताले धवल शमशेरलाई ल्याएर हाम्रो नगर बनाउनुपर्छ भन्ने मनस्थिति बनाइसकेका थिए । अरुले सक्दैनन्, पैसा खाइदिन्छन्, यसले पैसा खाँदैन, काम गर्न पनि सक्छ भन्ने थियो । त्यत्तिले जितेको हुँ।
सय दिन भइसक्यो, तर कामहरु ठोसरुपमा अघि बढेको त देखिँदैन । जनताले गुनासो गर्न थालिसके नि!
नेपालमा आलोचना सहने क्षमता राख्नैपर्छ । सय दिनमा वर्षातका दिनहरु परे । बजेट पनि थिएन, चाडपर्व सुरु भइहाले । अन्य ठाउँमा चुनावहरु भइरहेको थियो । मलाई पनि थाहा छ, केही पनि काम भएको छैन । वर्षाका बेला निर्माणका कामहरु हुन गाह्रोपर्छ । अब वर्षा सकिन दिनोस् र सय दिन पर्खनोस् । जसले आलोचना गरिरहेका छन्, उनीहरुको बोली बन्द हुन्छ । अब कामले नै मुख टाल्ने हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।