नेपाली कांग्रेसको प्रभावशाली नेताभित्र पर्छन्, डा शेखर कोइराला। केही सातायता नेपाली राजनीतिमा देखिएको वाम एकता र राजनीतिक ध्रुवीकरणका बीच शेखरले स्पष्ट धारणा राख्दै आएका छन्। सोमबार मात्रै पार्टीका पूर्व नेता तथा नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार पुनः कांग्रेसमा समाहित भए। सरकारमा बसेर विपक्षीसँग एकता गर्न जाने नेकपा माओवादी केन्द्रको राजनीतिक संस्कारप्रति शेखरले आलोचना गरेका छन्। उनले माओवादीलाई नैतिकताको आधारमा सरकार छोड्न सुझाव दिएका छन्। नेपाली राजनीतिले कोल्टे फेरेको अवस्थामा नेपाल लाइभलाई आफ्नो निवासमा अन्तर्वार्ता दिने क्रममा शेखरले भने, ‘माओवादीमा राजनीति संस्कार देखिएन।’ उनीसँग समसामायिक राजनीतिको बारेमा नवीन अर्यालले गरेको छोटो कुराकानी:
अहिलेको राजनीतिलाई कसरी विश्लेषण गर्नुभएको छ?
अहिले हामी निर्वाचनमुखी छौं। सबै ध्यान निर्वाचनमा लागेको छ। समानुपातिकको सूची बुझाइसकेका छौं। प्रत्यक्षको सूचीका लागि पनि काम भइरहेको छ।
पार्टीहरु धमाधम एकीकरण भइरहेका छन्, यसलाई कसरी लिनुभएको छ?
नेकपा एमाले र माओवादीले पार्टी एकीकरण गरेर एउटै कम्युनिस्ट पार्टी बनाउने भनेका छन्। उहाँहरु बनाउन चाहनुहुन्छ भने ठिकै छ। यसले ध्रुवीकरण त ल्याउँछ नै। उहाँहरुले यतिसम्म भन्नुभएको छ, हामीहरु साम्यवाद ल्याउँछौं। नेपाल जस्तो देश, जनता लोकतान्त्रिक भइसके। अब साम्यवाद चल्न सक्दैन।
सरकारको कार्यशैलीलाई लिएर आलोचना भइरहेको छ नि, मन्त्री थुप्रै बनाए भनेर…
यो बाध्यतावश गर्नुपरेको हो। माओवादीहरु सरकारमा छन्। विपक्षीसँग तालमेल गर्न हिँडेका छन्, त्यसैले विवशतावश गर्नुपर्यो। हामीलाई रहर लागेर वा खुसी भएर गरिएको होइन।
माओवादी अब सरकारमा रहन्छ कि रहँदैन?
उहाँहरुको नैतिकता छ भने हट्नुपर्यो। हामीहरुले हटाउँछौ भनेका छैनौं। तर, सरकारमा पनि बस्ने प्रतिपक्षसँग सहकार्य गरेर जाने? यो लोकतान्त्रिक संस्कार होइन। नैतिकताविरोधी काम हो। सरकार छोडेर गए भइहाल्थ्यो नि।
अहिलेको ध्रुवीकरणले निर्वाचनलाई कुनै असर पर्दैन? निर्वाचन नहुने आशंका उब्जिएको छ नि?
किन आशंका? आशंका नगरे हुन्छ। निर्वाचन हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।