काठमाडौं– व्यवसायी विनोद कुमार चौधरीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदको लागि उम्मेदवारी घोषणा गरेका छन् ।
उनले आर्थिक रुपान्तरणमा नयाँ अध्याय शुरू गरि आर्थिक समुन्नतीको जिम्मेवारी सम्हाल्न उपसभापतिमा उम्मेदवारी घोषणा गरेको बताएका हुन् ।
उम्मेदवारी घोषणा गर्दै उनले भनेका छन् ‘विगतका उपलब्धि र सीमाबाट पाठ सिक्दै नयाँ सोच, स्पष्ट दृष्टिकोण र परिणाममुखी आर्थिक नीतिका साथ अघि बढ्नुपर्छ। मेरो दृढ मान्यता छ—देशको विकासका लागि राजनीतिक नेतृत्वको दूरदृष्टि र त्यसलाई व्यवहारमा रूपान्तरण गर्न सक्ने आर्थिक विज्ञ तथा नीति–निर्माताबीच बलियो, संस्थागत र निरन्तर सहकार्य अपरिहार्य छ। राजनीति र अर्थतन्त्रलाई अलग–अलग क्षेत्रका रूपमा होइन, एउटै राष्ट्रिय विकास यात्राका परिपूरकका रूपमा बुझ्नुपर्छ।’
अब केवल आकर्षक नारा नभई , नयाँ आर्थिक सोच, स्पष्ट नीति, सक्षम कार्यान्वयन, जवाफदेही शासन र परिणाम दिने नेतृत्व चाहिएको उनले बताएका छन्। युवाको ऊर्जा, नयाँ पुस्ताको आकांक्षा र अनुभवी नेतृत्वको ज्ञानलाई एकीकृत गर्दै नेपाललाई उत्पादनमुखी, रोजगारी सिर्जना गर्ने, नवप्रवर्तनमा आधारित र प्रतिस्पर्धी अर्थतन्त्रमा रूपान्तरण गर्ने समय यही भएको उनको भनाई छ।
यो उम्मेदवारी केवल एउटा पदका लागि नभई, आर्थिक विकासका एजेन्डालाई राजनीतिको केन्द्रमा पुर्याउन, युवाहरूका आकांक्षालाई सम्बोधन गर्न, आर्थिक रूपान्तरणमार्फत देशको विकासको नेतृत्व नेपाली कांग्रेसले नै गर्न सक्छ भन्ने विश्वासलाई व्यवहारमा पुष्टि गर्न तथा कांग्रेसलाई नयाँ पुस्तासँग जोड्दै अझ सशक्त, आधुनिक र जनमुखी बनाउने संकल्पका लागि भएको उनले बताएका छन्।
उनले भनेका छन् ‘अब ‘राजनीतिका लागि राजनीति’ गरेर देशमा रुपान्तरण गर्न सकिदैँन । यसका लागि आर्थिक समुन्नतीका स्पष्ट योजनामा काम गर्नु आवस्यक छ । आर्थिक समुन्नतीको जिम्मेवारी सम्हाल्न म तयार छु ।’
आर्थिक रूपान्तरण, सुशासन र नयाँ पुस्ताको आकांक्षालाई केन्द्रमा राखेर नेपाली कांग्रेसलाई अझ सशक्त र जनमुखी बनाउन इमानदार प्रयास गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।