काठमाडौं– नेपाली कांग्रेसले पार्टीको पदाधिकारी संख्या बढाएर २३ सदस्यीय बनाउने निर्णय गरेको छ।
सोमबार बसेको केन्द्रीय समिति बैठकले सहमहामन्त्रीको संख्या १५ पुर्याउनेसहित पदाधिकारी विस्तार गर्ने निर्णय गरेको हो।
यसअघि कांग्रेसमा ८ जना सहमहामन्त्री रहने व्यवस्था थियो। नयाँ व्यवस्थाअनुसार सहमहामन्त्रीको संख्या १५ पुग्नेछ, जसमा ४ जना महिला मनोनीत हुने व्यवस्था गरिएको छ।
केन्द्रीय समितिको निर्णयअनुसार अब कांग्रेसमा १ सभापति, ३ उपसभापति, ३ महामन्त्री, १५ सहमहामन्त्री र १ कोषाध्यक्ष गरी कुल २३ जना पदाधिकारी रहनेछन्।
पार्टीभित्र पदाधिकारीका आकांक्षीको संख्या बढ्दै गएपछि नेतृत्व व्यवस्थापन र भागबण्डा मिलाउन पदाधिकारीको संख्या बढाइएको कांग्रेसका एक नेताले बताए।
यसअघि कांग्रेसमा पदाधिकारीको संख्या १४ रहेको थियो। नयाँ प्रस्तावअनुसार उपसभापति र महामन्त्रीको संख्या पनि बढाइएको छ।
केन्द्रीय समितिले गरेको निर्णय अब महाधिवेशनको बन्दसत्रमा पेस हुनेछ। बन्दसत्रबाट पारित भएपछि मात्रै नयाँ व्यवस्था कार्यान्वयनमा जाने कांग्रेसले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।