काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रमसम्बन्धी सूचना जारी गर्दै मतदाता नामावली प्रकाशनदेखि मतदान र मतगणनासम्मको कार्यतालिका सार्वजनिक गरेको हो।
निर्वाचन कार्यक्रमअनुसार सोमबार बेलुका ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। सोही दिन बेलुका ५ बजेदेखि ६:३० बजेसम्म मतदाता नामावलीउपर दाबी–विरोधका लागि समय तोकिएको छ। दाबी–विरोधउपर जाँचबुझ बेलुका ६:३० देखि ७:३० बजेसम्म गरी सोही समयमा मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ।
त्यसैगरी असोज २० गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारीका लागि दरखास्त तथा मनोनयनपत्र दर्ता गरिने निर्वाचन समितिले जनाएको छ। उम्मेदवारको पहिलो नामावली सोही दिन दिउँसो ४:३० बजे प्रकाशन हुनेछ। त्यसपछि दाबी–विरोध, जाँचबुझ तथा दोस्रो नामावली प्रकाशनको प्रक्रिया पूरा गरिनेछ।
असोज २१ गते बिहान ९ देखि १० बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ भने बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यसपछि निर्वाचन समितिले मतदानअघिको प्रचारप्रसारका लागि समय उपलब्ध गराउनेछ।
असोज २२ गते बिहान ७:३० बजेदेखि दिउँसो २ बजेसम्म मतदान हुने कार्यतालिका सार्वजनिक गरिएको छ। मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने र मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने सूचनामा उल्लेख छ।
निर्वाचन समितिले मतदानका लागि विभिन्न प्रदेश तथा तोकिएका स्थानअनुसार मतदान केन्द्रको व्यवस्था गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।