काठमाडौं– नेकपा एमालेले संसद्को दोस्रो अधिवेशनमा सरकारलाई संसद्प्रति उत्तरदायी बनाउन नसकिएको र विधायिकी काम पनि प्रभावकारी नभएको निष्कर्ष निकालेको छ।
आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले आगामी अधिवेशनमा थप सशक्त भूमिका निर्वाह गर्ने गरी तयारी गर्ने निर्णय गरेको छ।
प्रमुख सचेतक ऐनबहादुर महरका अनुसार बैठकमा हालै सम्पन्न दोस्रो अधिवेशनको समीक्षा गरिएको थियो। बैठकले संसद् सत्ताको छायामा परेको निष्कर्ष निकाल्दै सरकार संविधान र लोकतन्त्रको मर्मअनुसार अघि बढ्न नसकेको आरोप लगाएको छ।
सरकारको कार्यशैलीप्रति आपत्ति
महरले सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख भएको बैठकको निष्कर्ष रहेको बताएका छन्। लोकतान्त्रिक संस्थामाथि प्रहार भइरहेको र नागरिकका मौलिक हक कुण्ठित गरिएको उनको आरोप छ।
‘यो सरकारले संविधान र लोकतन्त्रको रक्षा गर्ने कुरा र जनताको जनजीविकाका सवालहरू सुदृढ गर्ने कुरामा सरकार चुकेको छ,’ उनले भनेका छन्।
उनका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पनि सरकारको कार्यशैली र संसद्को भूमिकाबारे प्रश्न उठाएका थिए।
कानुन निर्माण प्रभावकारी नभएको टिप्पणी
सरकारले चालु आर्थिक वर्षलाई कानुन निर्माणको वर्ष भने पनि त्यसअनुसार काम गर्न नसकेको एमालेको निष्कर्ष छ। महरले बजेट कार्यान्वयन र अध्यादेश प्रतिस्थापनसम्बन्धी विधेयक पारित गर्नुबाहेक कानुन निर्माणमा प्रभावकारी काम हुन नसकेको बताएका छन्।
‘बजेट कार्यान्वयन र अध्यादेशका प्रतिस्थापन विधेयकबाहेक कानून बनाउन नसकेको एमाले संसदीय दलको निष्कर्ष हो,’ उनले भनेका छन्।
बैठकले यी विषयमा आगामी संसद् अधिवेशनमा थप सशक्त भूमिका खेल्ने गरी तयारी अघि बढाउने निर्णय गरेको महरले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।