काठमाडौं– नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५औँ महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नगरी आत्मसमीक्षा, पुनर्जागरण र नीतिगत पुनर्संरचनाको अवसर बनाउनुपर्ने बताएकी छन्।
आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनतामाझ कमजोर हुँदै गएको विश्वास पुनःस्थापित गर्न कांग्रेसले निर्मम आत्मसमीक्षा गर्नुपर्ने बताइन्।
भुसालले कांग्रेसको ऐतिहासिक भूमिकालाई स्मरण गर्दै वर्तमान र भविष्यको स्पष्ट राजनीतिक मार्गचित्र तयार गर्ने जिम्मेवारी महाधिवेशनको रहेको बताइन्।
‘यो महाधिवेशन एउटा सामान्य भेला होइन । चार दशकदेखि लोकतन्त्रका लागि संघर्ष गर्दै इतिहास निर्माण गरेको नेपाली काँग्रेसको वर्तमान र भविष्यबारे चिन्तन, संवाद र आत्मसमीक्षा गर्ने महत्वपूर्ण थलो हो । यो महाधिवेशन केवल पद प्राप्ति वा पद व्यवस्थापनका लागि मात्र भइरहेको छैन,’ उनले भनिन् ।
उनले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई थप समावेशी र संस्थागत बनाउन तथा केन्द्रबाट हुने निर्णयलाई पारदर्शी बनाएर तल्लो तहसम्म पुर्याउन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरिन्।
नयाँ पुस्ताले सुशासन, रोजगारी र भ्रष्टाचारमुक्त समाजको अपेक्षा गरिरहेको उल्लेख गर्दै भुसालले उनीहरूको सपना र भरोसा सम्बोधन गर्ने गरी कांग्रेस रूपान्तरण हुनुपर्ने बताइन्।
उनले महाधिवेशनलाई आत्मसुधार, आत्मनिर्णय, पुनर्जागरण र पुनर्निर्माणको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिइन्।
‘नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामात्र होइन, लोकतान्त्रिक विचारधारामा विश्वास गर्ने सम्पूर्ण नेपालीले आत्मसमीक्षा गर्ने अवसरका रूपमा यस महाधिवेशनलाई लिनुपर्दछ । त्यसैले यो महाधिवेशनलाई आत्मसुधार, आत्मनिर्णय, पुनर्जागरण र पुनर्निर्माणको ऐतिहासिक अवसरका रूपमा लिन आवश्यक छ । हामीले यो अवसर गुमाउनु हुँदैन,’ भुसालले भनिन् ।
महिलाको राजनीतिक सहभागिताको विषय उठाउँदै भुसालले पार्टी तथा राज्यको नीति निर्माण तहमा महिलाको निर्णायक उपस्थिति सुनिश्चित गर्नुपर्ने मागसमेत गरिन्।
महाधिवेशनपछि कांग्रेसका नेता–कार्यकर्ता जनताको विश्वास अझ बलियो बनाउन गाउँ–गाउँ पुग्ने ऊर्जा र प्रतिबद्धतासहित फर्कनुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।