काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको १५औँ महाधिवेशनले कांग्रेसलाई पुनर्जीवन दिँदै नेतृत्वमा पुस्तान्तरणको बाटो खोल्ने बताएका छन्।
आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै घिमिरेले कांग्रेसले अब राष्ट्र र जनतालाई राजनीतिको केन्द्रमा राखेर अघि बढ्ने बताए।
‘कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँ र नेपाली राजनीतिलाई नयाँ चरणमा लैजान्छौँ,’ उनले भने।
उनले महाधिवेशनबाट मुलुकलाई स्पष्ट राजनीतिक दिशा दिने गरी नयाँ नीति तथा कार्यक्रम अघि सार्ने बताए। कांग्रेसले बीपी कोइरालाको सपना पूरा गर्ने लक्ष्यसहित देश र जनतालाई समुन्नत, खुसी र समृद्ध बनाउने तथा राष्ट्रिय प्रतिष्ठा उकास्ने गरी काम गर्नुपर्ने उनको भनाइ थियो।
घिमिरेले पछिल्ला वर्षमा नेपाली राजनीति अपेक्षित दिशामा अघि बढ्न नसकेको भन्दै त्यसको समीक्षा गर्नुपर्ने बताए।
‘नेपाली राजनीति र लोकतन्त्र सार्थक भइरहेको छ कि छैन? यसको समुचित जवाफ खोज्नुपर्छ,’ उनले भने।
कांग्रेस, एमाले र नेकपा आलोपालो सरकारमा पुगे पनि जनताको जीवनस्तरमा अपेक्षित परिवर्तन ल्याउन नसकेको उनले बताए। राजनीतिक परिवर्तनलाई नागरिकको दैनिक जीवनसँग जोड्न नसकिएको उनको भनाइ थियो।
‘युवामा आशा भर्न सकेनौँ, बालबालिकामा खुसी ल्याउन सकेनौँ, समृद्धिको मानक ल्याउन सकेनौँ,’ घिमिरेले भने।
महाधिवेशनपछि कांग्रेसले जनताको जीवनस्तरमा परिवर्तन ल्याउने लक्ष्यसहित राजनीतिक र सामाजिक क्षेत्रमा उत्साहका साथ काम गर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।