काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री पदमा तीन महिला नेतृले उम्मेदवारी घोषणा गरेका छन् ।
केन्द्रीय कार्यसमितिमा रहेका प्रतिमा गौतम, ईश्वरी न्यौपाने र सीता गुरुङले १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
गौतम २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फबाट सांसद बनेकी थिइन् । उनी नेपाल विद्यार्थी संघकी पूर्वमहामन्त्रीसमेत हुन् ।
न्यौपाने प्रतिनिधिसभाकी पूर्वसचेतक तथा राज्य व्यवस्था तथा सुशासन समितिकी पूर्वसभापति हुन् । उनी कांग्रेसको केन्द्रीय सदस्यमा पटक–पटक निर्वाचित भइसकेकी छन् ।
न्यौपानेले कांग्रेसलाई लोकप्रिय र देशकै पहिलो पार्टीका रूपमा स्थापित गर्न तथा संगठनलाई थप मजबुत बनाउन आफ्नो भूमिका महत्वपूर्ण हुने बताएकी छन् ।
‘नेपाली कांग्रेसलाई लोकप्रिय पार्टी निर्माण गर्ने, संगठनलाई अझ मजबुत बनाउने र देशकै नम्बर एक पार्टीका रूपमा स्थापित गर्ने अभियानमा मेरो महत्वपूर्ण भूमिका रहनेछ,’ उनले भनिन्, ‘त्यसकारण मलाई मतदान गरेर यो अवसर प्रदान गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूमा हार्दिक अपिल गर्दछु ।’
त्यस्तै, कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सीता गुरुङले पनि सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
गुरुङ प्रतिनिधिसभामा समानुपातिक र प्रत्यक्ष दुवै निर्वाचन प्रणालीबाट सांसद बनेकी थिइन् । २०७९ सालमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उनी सहरी विकासमन्त्रीसमेत बनेकी थिइन् ।
कांग्रेसको वर्तमान विधानअनुसार पार्टीमा आठ जना सहमहामन्त्री रहने व्यवस्था छ । तीमध्ये एउटा पद महिलाका लागि आरक्षित छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।