काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ५ बजेसम्म १ हजार ४५२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रसुवामा २३६, नुवाकोटमा २०४, धादिङमा ७२, चितवनमा ३६७, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको हो। यस्तै, काठमाडौंमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
फेला परेका शवको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३३३ वटा शव व्यवस्थापन गरिएको छ। प्रहरीले शवलाई माटोमुनि सुरक्षित राखिएको जनाएको छ।
शव पहिचानका लागि मृतकका १ हजार ३२९ र आफन्तका २ हजार १६ गरी कुल ३ हजार ३४५ वटा डीएनए नमुना सङ्कलन गरिएको छ। पहिचान हुन नसकेका १ हजार ४२२ शवको विवरणसमेत नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ।
प्रहरीका अनुसार हालसम्म बेपत्ता भएका ४ हजार ७१८ जनाको खोजी कार्य भइरहेको छ। विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा १ हजार २४२ जनालाई राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।