काठमाडौं– काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा निश्चित समयअनुसार सवारी साधन सञ्चालन हुने भएको छ।
सडकको अवस्था र आवागमन व्यवस्थापनलाई ध्यानमा राख्दै राति १० टनसम्मका मालवाहक तथा ढुवानीका साधन र दिउँसो निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालन गरिने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।
बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म १० टन तौलसम्मका मालवाहक तथा ढुवानीका साधन सञ्चालन हुनेछन्। निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधन भने बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने जनाइएको छ।
यस्तै, वर्षाका कारण नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक अन्य सवारी साधनको रातिको समयमा आवतजावतमा रोक लगाइएको छ। अर्को सूचना जारी नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा अत्यावश्यक सेवाबाहेक सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ।
उता, रसुवाको पासाङ ल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। गत साउन ८ गते बिहान ८ बजे रसुवाको उत्तरगया गाउँपालिका–५, खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी जाने कच्ची सडकखण्डमा त्रिशूली नदीले सडकको मुनिबाट कटान गरेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। त्यसपछि साउन १० गते आएको बाढीका कारण सडकको अधिकांश भाग नष्ट भएको प्रहरीले जनाएको छ।
त्यस्तै, गत भदौ १० गते आएको बाढीका कारण त्रिशूली बजार, बेत्रावती बजार हुँदै रसुवागढी नाकासम्म जाने मुख्य पासाङ ल्हामु राजमार्गको त्रिशूली नदी किनारतर्फको अधिकांश भाग कटान भएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
स्याफ्रुबेंसीसम्म जानका लागि भने वैकल्पिक मार्ग उपलब्ध रहेको जनाइएको छ। काठमाडौं–टोखा–छहरे हुँदै विदुर, नुवाकोट दरबार, फलाँटे, चोकदे, लच्याङ, सरमथली, पार्च्याङ, भोर्ले, ० किमि, कालिकास्थान, स्याउबारी, राम्चे, सोले, धुन्चे हुँदै स्याफ्रुबेंसीसम्म पुग्न सकिने सिंगल लेनको कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने प्रहरीले जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।