काठमाडौं– हाल देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको पश्चिम–मध्य भू–भाग आसपास रहेको न्यून चापीय क्षेत्र आगामी दिनमा थप शक्तिशाली बन्दै ‘डीप डिप्रेसन’ (बलियो न्यून चापीय क्षेत्र) का रूपमा पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको छ।
हाल बागमती प्रदेशसहित देशका हिमाली र पहाडी भू–भागमा सामान्यतया बादल लागेको छ। तराई भू–भागमा भने मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।
बुधबार दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।
मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
बुधबार राति पनि देशभर सामान्यतया बादल लाग्नेछ। कोशी प्रदेशका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।
मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
राति कोशी प्रदेशका थोरै स्थानमा, बागमती प्रदेशका पहाडी तथा तराई भू–भाग र गण्डकी तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।