काठमाडौं– रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई तीव्र बनाएको छ ।
पूर्वाधार विकास मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रभावित परिवारको आवास व्यवस्थापनका लागि आवश्यक तयारी अघि बढाएका हुन् । सम्बन्धित स्थानीय तहले पनि मन्त्रालयलाई आवश्यक विवरण उपलब्ध गराउँदै सहयोग गरिरहेका छन् ।
पूर्वाधार विकास मन्त्रालयका सचिवको संयोजकत्वमा गठित समितिमा विभिन्न विभागका चार महानिर्देशक र प्रभावित क्षेत्रका स्थानीय तहका प्रमुखहरू सदस्य छन् । समितिले प्रभावित क्षेत्रको आवश्यकता पहिचान गरी सोही आधारमा अस्थायी आवासको व्यवस्थापन अघि बढाइरहेको छ ।
सरकारले प्रभावित परिवार आफैंले सुरक्षित स्थानमा कोठा भाडामा लिएर बस्न चाहेमा चार जनासम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । चार जनाभन्दा बढी सदस्य रहेको परिवारका लागि थप प्रतिव्यक्ति मासिक २ हजार रुपैयाँ उपलब्ध गराइनेछ ।
त्यस्तै, प्रभावित परिवारसँग अन्यत्र सुरक्षित जग्गा भएमा सरकारले त्यहाँ ‘मोड्युलर’ घर निर्माणको व्यवस्था गर्ने तयारी गरेको छ ।
अन्यत्र सुरक्षित जग्गासमेत नभएका परिवारका लागि भने सरकारले आवश्यक जग्गा व्यवस्थापन गरी सोही स्थानमा ‘मोड्युलर’ घर निर्माण गर्ने तयारी गरेको छ ।
बाढीबाट घर तथा आवास गुमाएका परिवारलाई तत्काल सुरक्षित बसोबासको व्यवस्था गर्ने उद्देश्यले अस्थायी आवासको कामलाई प्राथमिकतामा राखिएको सरकारले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।