काठमाडौं– संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली अमेरिकाको न्यूयोर्क पुगेको छ।
परराष्ट्रमन्त्री खनाल सोमबार न्यूयोर्क आइपुगेका हुन्। उनलाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापाले जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
महासभाको उच्चस्तरीय सत्रअन्तर्गत परराष्ट्रमन्त्री खनालले विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्। उनले विभिन्न मुलुकका समकक्षी तथा विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत छ।
नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह सेप्टेम्बर २२ मा अमेरिका आउने कार्यक्रम छ। प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नेछन्।
प्रधानमन्त्रीको टोलीमा परराष्ट्रमन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यान्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी सहभागी हुनेछन्।
यसपटक महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल १४ सदस्यीय रहेको छ। प्रधानमन्त्रीको नेतृत्वमा महासभामा सहभागी हुन जाने पछिल्ला प्रतिनिधिमण्डलमध्ये यो तुलनात्मक रूपमा सानो टोली हो।
न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत छ।
प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा काठमाडौं फर्किनेछन् भने परराष्ट्रमन्त्री खनाल सेप्टेम्बर २९ मा नेपाल आइपुग्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।