काठमाडौं– रसुवा भोटेकोशी बाढीबाट भएको क्षतिको वास्तविक विवरण संकलन गर्न सरकारले २५० भन्दा बढी कर्मचारीलाई प्रभावित क्षेत्रमा खटाएको छ ।
राष्ट्रिय योजना आयोगले विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) प्रतिवेदन तयार पार्न रसुवा, नुवाकोट, धादिङ र गोरखाका बाढी प्रभावित सबै पालिकाका वडामा कर्मचारी परिचालन गरेको हो ।
आयोगका सहसचिव तथा प्रवक्ता हरिशरण पुडासैनीका अनुसार घरधुरी तहसम्म पुगेर क्षति तथा नोक्सानीको विवरण संकलन गर्न प्रश्नावली तयार पारिएको छ । सम्बन्धित स्थानीय तह, क्षेत्रगत समिति र विषयविज्ञसँगको परामर्शमा प्रश्नावली तयार गरिएको हो ।
तथ्यांक संकलनका लागि अनलाइन पोर्टलसमेत तयार गरिएको छ । कर्मचारीलाई ट्याबलेटसहित प्रभावित क्षेत्रका वडामा पठाइएको आयोगले जनाएको छ । यसबाट संकलित तथ्यांकलाई व्यवस्थित, एकरूप र विश्वसनीय बनाउने लक्ष्य राखिएको छ ।
फिल्डमा खटिने प्रत्येक टोलीमा एक प्राविधिक, एक प्रशासनिक र एक तथ्यांक सेवाका कर्मचारी रहने व्यवस्था गरिएको छ । उनीहरूले प्रभावित घरधुरी तथा क्षेत्रको स्थलगत अवस्था, क्षति र नोक्सानीको विवरण संकलन गरी अनलाइन प्रणालीमा प्रविष्ट गर्नेछन् ।
तथ्यांक संकलनको समन्वय तथा अनुगमनका लागि आयोगका कार्यक्रम निर्देशकहरूलाई समेत सम्बन्धित पालिकामा खटाइएको छ ।
संकलित विवरणका आधारमा क्षति तथा नोक्सानीको विस्तृत मूल्यांकन, वित्तीय आवश्यकता अनुमान र पुनर्निर्माण योजना तयार गरी पीडीएनए प्रतिवेदन बनाइने आयोगले जनाएको छ । पीडीएनए तयार पार्ने जिम्मेवारी सरकारले राष्ट्रिय योजना आयोगलाई दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।