काठमाडौं– सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरेका छन्।
भेटका क्रममा सभामुख अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत श्रीवास्तवलाई बधाई तथा शुभकामना दिएका थिए।
अर्यालले श्रीवास्तवको कार्यकालमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगेको बताए।
उनले पछिल्लो समय नेपालले सामना गरिरहेको विनाशकारी विपद्का क्रममा भारतले उद्धार तथा राहतमा उपलब्ध गराएको सहयोगप्रति विशेष आभार व्यक्त गरे। भारतले संकटको समयमा पहिलो उद्धारकर्ता तथा विश्वसनीय छिमेकीका रूपमा सहयोग गरेको भन्दै उनले धन्यवाद दिएका थिए।
भेटमा भारतीय राजदूत श्रीवास्तवले रसुवामा भएको क्षति अकल्पनीय रहेको बताएका थिए। उनले भारतले विपद्पछिको राहत तथा उद्धार कार्यमा निरन्तर सहयोग गरिरहेको जानकारी गराउँदै संकटको घडीमा भारत सधैं नेपालको साथमा रहने प्रतिबद्धता व्यक्त गरे।
श्रीवास्तवले सन् २०२२ जुन २५ मा नेपालका लागि भारतीय राजदूतका रूपमा कार्यभार सम्हालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।