काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले साना र छापा माध्यमका पत्रपत्रिका बन्द गर्न खोजेको आरोप लगाएका छन्।
नेपाल पत्रकार महासंघद्वारा गठित छापा माध्यम बचाउ सुझाव कार्यदलको ध्यानाकर्षणपत्र बुझ्दै उनले शनिबार भने– “सामाजिक सञ्जालबाट आएको सरकारले त्यसको एकाधिकार कायम गर्न छापा माध्यमको अन्त्य गर्न खोजेको देखियो।”
कार्यदलले सरकारले लोककल्याणकारी विज्ञापनको रकममा आधासम्म कटौती गर्ने सरकारी निर्णयको विरुद्ध अभियान चलाउने क्रममा प्रचण्डसँग भेट गरेको हो। ‘नयाँ सरकारले लोककल्याणकारी विज्ञापन ५० प्रतिशत कटौती गर्नु भनेको साना र छापा माध्यम अन्त्य गर्ने मनसायबाट प्रेरित देखिन्छ।’
सो क्रममा प्रचण्डले यस विषयमा आफूले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग शनिबार नै कुरा गर्ने र प्रतिनिधिसभा बैठकमा पनि यो विषयमा बोल्ने प्रतिबद्धता जनाएका छन्।
उनले सरकारले पछिल्लो परिवर्तन, लोकतन्त्र र लोकतान्त्रिक अधिकार, प्रेस स्वतन्त्रता, ट्रेड युनियन आदि अधिकारमा आक्रमण गरेको आरोपसमेत लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।