काठमाडौं– रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको टनेलबाट ११ वटा शव निकालिएको छ।
नेपाली सेना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट–३ टनेलभित्र खोजी गर्ने क्रममा शव फेला पारेको हो। आज दिउँसो १२:३० बजेको अपडेटअनुसार निकालिएका ११ वटै शव नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलभित्र थप खोजी कार्य जारी रहेको सेनाले जनाएको छ।
यस्तै, त्रिशूली–३ ए जलविद्युत आयोजनाको टनेल र पावरहाउस क्षेत्रमा आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले खोजी गरिरहेको छ।
त्रिशूली–३ बीको पावरहाउस क्षेत्रमा नेपाली सेनासहितको संयुक्त टोलीले एक्स्काभेटर र लोडर प्रयोग गरी उत्खनन गर्दा अहिलेसम्म केही फेला परेको छैन। त्यहाँ पनि खोजी कार्य जारी छ।
लाङटाङ र चिलिमे जलविद्युत आयोजनामा समेत खोजी गरिएको भए पनि केही फेला नपरेको सेनाले जनाएको छ।
यसैबीच, बाढी प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा नेपाली सेनाले पैदल गस्ती, ड्रोन तथा अन्य माध्यमबाट खोजी तथा उद्धार कार्य जारी राखेको छ। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व–पश्चिमका प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन गरिएको छ।
सेनाका अनुसार हालसम्म हवाई माध्यमबाट ४ हजार १९५ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ९१२ जना नेपाली र २८३ जना विदेशी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।