प्रधानमन्त्रीले राजीनामा दिनु उचित : ओली (भिडियोसहित)

नेपाल लाइभ | २०७४ भदौ १८ आइतबार | Sunday, September 03, 2017 १२:१८:०० मा प्रकाशित

चितवन- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनको विषयमा भारतमा कुरा गरेर गल्ती गरेको बताएका छन्।

प्रेस चौतारी चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले संसदबाट चुनिएका प्रधानमन्त्रीले भारतमा गएर संसदको निर्णय फेरि सच्याउँछु भन्नु हास्यास्पद भएको बताए। दुई दिनअघिको संसद निर्णयलाई विदेशमा गएर सच्याउँछु भन्ने प्रधानमन्त्रीले राजीनामा दिनु उचित हुने ओलीको तर्क थियो।

नेपाल आयल निगमले चितवनका जग्गा खरिदमा भष्ट्राचार गरेको खबर आइरहँदा पनि दलहरु मौन बसेको प्रसंगमा अध्यक्ष ओलीले एमाले एक्लैको प्रयासले भष्ट्राचार नियन्त्रण नहुने जिकिर गरे। उनले राज्यशक्तिको दुरुपयोग र संरक्षणमा भ्रष्टचारीहरु संरिक्षित रहेको ओलीको आरोप थियो।

कार्यक्रममा ओलीले प्रदेश नम्वर २ को स्थानीय निर्वाचनमा समेत एमाले पहिलो पार्टी बन्ने दाबी गरे।