पुजनीय बावाआमा
_x000D_
सादर प्रणाम,
_x000D_
_x000D_
आमा, दसैं पनि लागिसकेछ। बारीमा कोदो फुल्यो होला अब। सहरबाट भाइहरू घर आइपुगे होलान्। सहरमा बसेर निस्ताएकाले के खाऊँ र कसो गरुँ भनेर खुब रगरग गर्दा हुन्। गाउँका अरू साथीभाइ पनि घर आउँदै होलान्। सबैले घरमा कमेरो, चुना लगाउन थाले थालिसके होला। एक वर्षमा गरिने नित्य कार्य कतिले सके पनि होला। बर्सातले भत्काएको, झारहरू उम्रिएर घारी भएको बाटो पनि फाँडफुँड, खनखान गरेर चिटिक्क पारिसके होला।
_x000D_
_x000D_
जुरिथुम्की डाँडामा लिङ्गेपिङ हाल्छन् कि हाल्दैनन् होला यसपालि? सबैका घरमा मिठोमसिनो पाक्न थाल्यो होला। दसैंमा त गाउँ पनि भरिभराउ हुन्छ। घरहरु उज्याला हुन्छन्।
_x000D_
_x000D_
बुबा, आमा। दसैंको बेला बाल्यकालसँगै नेपाली पर्व आज विदेशबाट स्मरण गरिरहेको छु। छिप्पिँदै गएको उमेरले चाडबाडको मोह घट्दै जाने कतिपयहरुको अभिव्यक्ति पनि पाइन्छ। ती बोली नेपालमा हुनेहरुको लागि हो। परदेशिएकाहरुको लागि दसैंको महत्व कतिकति।
_x000D_
_x000D_
६ वर्ष भइसकेछ परदेशिएको। आर्थिक जोहोका लागि अर्काको धरतीमा शरण लिएकाहरुसँग सबैथोक अर्काको हुँदो रहेछ। यहाँको हावापानी, भाषा, धर्म संस्कृति, चालचलन रीतिरिवाज, खानपिन सबैसबै अर्काको।
_x000D_
_x000D_
यहाँ हाम्रो आफ्नो केही छैन जस्तै लाग्छ। दसैं त झन् छँदैछैन, आउँदै आउँदैन। टीकाको दिन पनि बिहानैदेखि काममै खट्नुपर्छ। मेसिनहरूहरुको देशमा मेसिनसँग भिड्नुपर्छ।
_x000D_
_x000D_
साहु सबैभन्दा ठूलो भगवान् हुन्छ यहाँ। ऊ नै अन्नदाता। उसलाई ‘बोल्ने भगवान्’का रुपमा स्विकार्नुपर्छ। गाली गरे सहनुपर्छ। जे दियो त्यही खानुपर्छ। क्षमताले गर्न नसक्ने काम भए पनि गर्न सक्दिन भन्न पाइन्न। आज हाम्रो चाड छुट्टी दिनु भन्यो भने उसले ‘यो देश मेरो हो’ भन्छ। मेरो रहनसहन मान्नुपर्छ भन्छ। आफ्नै संस्कृतिको हेक्का नभएकालाई हाम्रो संस्कति र परम्पराको किन वास्ता हुने थियो र? आफूलाई भन्दा कामलाई प्रेम गर्छन् यहाँका मान्छेहरू।
_x000D_
_x000D_
हाम्रो साहुले कुनै धर्म मान्दैन। उसलाई हिन्दु धर्म के हो थाहा छैन। उसलाई बौद्ध पनि थाहा छैन। ऊ क्रिश्चियन पनि होइन। नास्तिकहरुको संख्या बढ्दैछ। त्यसैले कुनै चाड मान्दैन। हाम्रो साहुको लागी हरसाँझ नयाँ चाड बन्छ। ऊ केही बोत्तल रक्सी पिउँछ र रातभर लठ्ठिन्छ। कारखानाको जन्म दिन र अरू दुई पटक गरेर वर्षमा तीन पटक कारखानाले पार्टी दिन्छ। त्यही पार्टी हामी मजदुरहरूका लागि चाड हो। चाडमा मासु र रक्सी पिएर मात्नु नै यौटा मजदुरको सबैभन्दा धेरै उल्लासको क्षण हो।
_x000D_
_x000D_
आमा, यहाँ हामी लिंगेपिङ खेल्नुको साटो ट्रेकिङ जान्छौ। रोलर क्रोस्टर खेल्छौं। ससाना पहाडहरूलाई ठूला मानी चढ्छौं। अझ भनौं ठूल्ठूला सपिङ महलहरू घुमेर रमाइलो गर्छौं। पार्कतिर टहलाउँछौ।
_x000D_
_x000D_
कहिलेकाहीँ कारखाना छुट्टी हुन्छ। जस्तो कि चाइनिज नयाँ वर्षमा छुट्टी हुन्छ। गर्मी बिदा भनेर गर्मीमा केही दिन बिदा हुन्छ। सलनाल भन्ने कोरियनहरूको भेटघाटको चाड हो। त्यतिखेर हामी एक-अर्को कारखानाको नेपालीनेपाली मिलेर दसैं मनाउँछौं। गीत गाउँछौं। नाच्छौं। खसी काट्छौं। तास खेल्छौं। १५ दिनअघि नै हामीले उनिहरूको चाडमा हाम्रो दसैं मनाइसक्यौं।
_x000D_
_x000D_
आमा, परदेशमा घरदेशको खुब सम्झना आउँछ। बालापनको याद आउँछ। अझ यसरी दसैंतिहार चाडबाड आउँदा परदेश खुब रुन्छ। घरदेख खुब दुख्छ परदेशीलाई। एक गीतमा कर्णदास गाउँछन्, ‘लाहुरेलाई चाडबाड नआएकै जाती।’ ठिक त्यस्तै लाग्छ परदेश। खासमा परदेशीलाई चाडबाड नआएकै जाती।
_x000D_
_x000D_
बुबा अस्ति भन्दै हुनुहुन्थ्यो, ‘छोराछोरीलाई हुर्कायो पढायो आफ्नो खुट्टामा उभिनसक्ने बनायो दुःख गर्यो। बुढेसकालका लौरो हुन्छन् कि भन्यो बचेराहरूले आफ्ना पखेटा पलाएपछि गुँड छाडेजस्तै।’ बुबाको बोली सम्झिन्छु, ‘सन्तानहरूले गुँड छाड्दा खुब नरमाइलो लाग्दो रहेछ। आजकाल म त यिनै बाख्राका पाठाहरूलाई सन्तान सम्झन थालेको छु। गाईका बाच्छाहरूसँग खुब खेल्न मन पर्छ।’
_x000D_
_x000D_
आमा, हेर्नुन् मलाई संसारको सबैभन्दा दह्रो आत्मबल भएको निडर मेरै बुबा हो जस्तो लाग्थ्यो। तर अस्ति किन बुबाले त्यसो भन्नुभएको?
_x000D_
_x000D_
कवि रमेश सायनले 'जागिर' कवितामा लेखेका छन्–
_x000D_
_x000D_
एकदिन म जिन्दगीसँग औधी थाकेँ
_x000D_
र भनेँ–
_x000D_
मालिक, तपाईंले मेरा भोक र अभावहरू टारिदिनुभयो
_x000D_
धन्य छ तपाईंलाई
_x000D_
अब मलाई मर्न दिनुस्
_x000D_
मालिकले भन्यो–
_x000D_
ठिक छ
_x000D_
आज थुप्रै काम छ
_x000D_
सप्पै सक
_x000D_
र भोलि मर।
_x000D_
_x000D_
हेर्नु न बुबाआमा, घरमा सबै परिवारमा बसेर चाडबाड नमनाएको धेरै भयो। यसपालि म घर जान्छु छुट्टी दे, भनेँ। उसले भन्यो, 'हेर गणेश, यसपाला कारखाना बिजी छ। अर्को साल जानु।’
_x000D_
_x000D_
बुबा, मलाई याद छ। मैले तपाईंको मन दुखाएको छु टाढिएर। मैले बिर्सिएको छैन बुबा जब म सानो थिएँ। तपाईंले मलाई नयाँ नाना किनेर ल्याइँदिँदा तपाईंका शरीरमा टालेको कमिज थियो। तपाईंका चप्पलका लोती चुँडिएर आगोमा तताएर टालिएका थिए। र, पनि तपाईं खुसी हुनुहुन्थ्यो। आज म तिनै कमिज र चुँडिएका चप्पलका लोती फेरेर तपाईंको ओठमा त्यही पुरानो कलेवरको मुस्कान फुलाउन परदेशिएको हुँ। हुन त तपाईंहरूले मलाई कहिल्यै भोको राख्नुभएन। कहिल्यै नांगो राख्नुभएन। कुनै कुराको अभाव हुँदै भएन। पढ्छु भन्दा दुखै गरेर चाहेजति पढाउनुभयो।
_x000D_
_x000D_
बुबा, संसारको सबैभन्दा ठूलो पैसा भयो यो स्वार्थी दुनियाँमा आजकाल। पैसा भए हरेक कुरा सम्भव भइदियो। म त्यसैको भ्रममा फसेँ। तर अहिले बुझ्ने भएको छु। पैसाभन्दा ठूलो मायाममता पो रहेछ। बुबाआमा रहेछन्।
_x000D_
_x000D_
म यतिखेर यो पत्र लेख्दै गर्दा हजुरआमालाई खुब मिस गर्दैछु। उहाँले आफ्नो प्राण त्याग्नुभन्दा केही क्षणअगाडि मलाई भन्नुभएको थियो, 'नानी स्वास्थ्यको ख्याल गर्नु। चाडबाड निबिर्सनु। यसपालिको दसैंमा जसरी भए पनि आउनु। तिमीहरू नभए चाडबाड आउँदैन नानी यो बिरानो घरमा।'
_x000D_
_x000D_
तर, दुर्भाग्य त्यो साल दसैं नै आएन। त्यसो भनेको केही घन्टामै आमाले यो धरती छाड्नुभयो।
_x000D_
_x000D_
आमा म यतिबेला तपाईंलाई सम्झँदैछु। तपाईं यो धरतीमा नरहे पनि मेरो कुराहरू नसुने पनि मेरो मनले तपाईंलाई बिर्सिएको छैन। कहिल्यै बिर्सने पनि छैन। म तपाईंको सिर्जना त हुँ। आमा तपाईंनै यो धरतीमा नरहेपछि फेरि कुनै दसैं नआओस् जस्तो लाग्छ। कुनै चाडबाड नआओस् जस्तो लाग्छ। बगैंचामा कुनै मखमली र सयपत्री नफुलून् जस्तो लाग्छ। किनकि मेरो वरपर त्यो बूढो अनुहार हुँदैन जसले मलाई संसारको सबैभन्दा धेरै माया गर्छ।
_x000D_
_x000D_
यो बिरानो परदेश भए पनि हरदम हामी घरदेशकै वातावरण बनाउने कोसिस गर्नेछौं। यहाँ हामी १२ जना नेपाली छौं। बुबाकै उमेरको एक जना दाइ हुनुहुन्छ। हामी टीकाको दिन कामबाट फुर्सद मिलेपछि उहाँकै हातबाट टीका लगाउनेछौं। रमाइलो गर्नेछौं।
_x000D_
_x000D_
चाडबाड भन्नु नै रमाइलो र भेटघाट त हो। भेटघाट हुन नसके पनि रमाइलो गर्न छाड्ने छैन। अँ, टीका लगाइसकेपछि भाइलाई फेसबुकमा फोटा पठाइदे भन्नु है। हामी परदेशीहरू तिनै फोटा हेरेर घरदेश सम्झनेछौं। परिवार सम्झनेछौं। टीका लगाउन नसके पनि आशीर्वाद दिन त मिल्छ नै। सम्भव भए दसैंको शुभसाइतमै मोबाइलको घन्टी बजाऊँला।
_x000D_
_x000D_
यसपाला यस्तै भयो बुबाआमा। अर्कोसाल सँगै दसैं मनाऔंला।
_x000D_
_x000D_
उही परदेशिएको तपाईंहरुको पुत्र–
_x000D_
गणेश पौडेल
_x000D_
दक्षिण कोरिया
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।