काठमाडौँ –नेपाली काँग्रेसको जारी विशेष महाधिवेशन नयाँ नेतृत्व चयनको प्रक्रियामा अघि बढेको छ ।
संस्थापन पक्षसँग भएको वार्ता सकारात्मक नभएपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।
काठमाडौँको भृकुटीमण्डपमा मंगलबार बसेको समितिको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । वरिष्ठ अधिवक्ता एवं निर्वाचन समितिका संयोजक सीताराम केसीको नेतृत्वमा बसेको बैठकले केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रिया अघि बढाएको हो । समितिले मंगलबार नै सूचना प्रकाशित गरी विधिवत रूपमा प्रक्रिया सुरु भएको प्रस्ट पारेको छ ।
काँग्रेसको विधानमा भएका पदका अनुसार नै उम्मेदवार मनोनयन र मतदान प्रक्रिया अघि बढ्ने निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले बताए ।
कांग्रेसको विधान २०१७ (संशोधन सहित), नियमावली २०७६, विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२ र निर्वाचन निर्देशिका २०८२ को अधीनमा रही निर्वाचन प्रक्रिया सुरु गरिएको संयोजक केसीले जानकारी दिए ।
विशेष महाधिवेशनबाट पारित हुने विधान निर्वाचन आयोगबाट प्रमाणीकरणपछि मात्रै लागू हुने भएकाले पुरानै विधानमा उल्लेख भएका पदका आधारमा निर्वाचनको तयारी गरिएको उनले बताए ।
काँग्रेसको विधानमा सभापति १, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ८ सहित केन्द्रीय सदस्यहरूको लागि मतदान हुनेछ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।