काठमाडौं – नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनको बन्द सत्र जारी छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि बन्द सत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रियासमेत अगाडि बढाइने बताइएको छ ।
भृकुटीमण्डपमा बन्दसत्र जारी रहँदा विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच अहिले बालुवाटारमा वार्ता चलिरहेको छ ।
संस्थापन पक्षले विशेष महाधिवेशनलाई मान्यता नदिने बताइरहेको छ भने विशेष पक्षले नयाँ नेतृत्व समेत चयन गर्ने बताइरहेको छ ।
त्यस्तै विशेष महाधिवेशनको दोस्रो दिनको बन्दसत्रले डेमोक्रेटिक लयर्स एसोसियसन (डिएलए)का अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन गरेको छ ।
पार्टीका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेश गरेको छुट्टाछुट्टै दुई प्रस्तावमाथि छलफल चलिरहँदा डिएलएका अध्यक्ष केसीको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको हो ।
निर्वाचन समितिमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल, रामचन्द्र गौतम सदस्य रहेका छन् ।
नयाँ निर्वाचन समितिका संयोजक सीताराम केसीले तत्काल निर्वाचन प्रक्रिया शुरू गरिने बताएका छन् । यसअघि निर्वाचन समिति संयोजक खम्ब खाती थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।