काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस अब पुरानै ढङ्गबाट अघि बढ्न नसक्ने बताएका छन् ।
आइतबारबाट सुरु भएको विशेष महाधिवेशनलाई भृकुटीमण्डपमा सम्बोधन गर्दै महामन्त्री शर्माले नेतृत्वबाट कमजोरी भएको र त्यसको हिस्सा आफूहरूले पनि लिने भन्दै पुरानै ढंगले नयाँ यात्रा गर्न नसकिने बताएका हुन् ।
‘पुरानै ढङ्गले नयाँ यात्रा गर्न सकिँदैन । नयाँ परिस्थितिमा मनस्थिति र सोच पनि बदल्नुपर्छ’, शर्माले भने, ‘यो देशको मौसम खराबीलाई बुझेपछि बदलिएको मौसमलाई बदल्न नयाँ ढङ्गले जाने मनोविज्ञानमा छौ ।’
उनले निराशामा जुधिरहेको देशलाई नयाँ सङ्कल्पका साथ अघि बढाउन चुकेको ठाउँबाटै अघि बढ्नुपर्ने बताए ।
‘जिम्मेवार राजनीतिक दल र नेता त्यो हुन्छ जसले आफूले गरेका कमजोरीको आत्मालोचना पनि गर्छ’, शर्माले भने,‘कि हामी नेपाली कांग्रेसलाई बदल्ने छौ, हामी पनि बदलिने छौ ।’
महामन्त्री शर्माले कांग्रेसमात्र नभएर कमजोर बनेको देशलाई नै बलियो बनाउने अभियानमा कांग्रेस लागेको बताए ।
उनले पुरानै शैलीमा नयाँ भविष्य बनाउन नसकिने बताए ।
‘अहिलेको परिस्थितिलाई सामना गर्न, नयाँ परिस्थिति निर्माण गर्न नयाँ सोच बनाउनुछ । पुरानै आनीबानी राखेर नयाँ भविष्य बनाउन सकिँदैन,’ उनले भने, ‘यो उपस्थितिले कांग्रेस बदल्ने मात्र होइन, देश बदल्ने सोच राखेको छ ।’
उनले हिजोभन्दा आज कांग्रेस आफूभित्रको चुनौतीको सामना गरिरहेको पनि बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।