काठमाडौं– नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नेपाली कांग्रेसलाई संगठित र सुदृढ बनाउन विशेष महाधिवेशन आयोजना गरिएको बताएका छन् ।
नेपाली कांग्रेसको दोस्रो महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता केसीले गतिशील पार्टीमा विकृतिहरु बग्दै जाने बताए ।
‘कुनै पनि लोकतान्त्रिक पार्टी गतिशील हुन्छ, एकै ठाउँमा जमेको पोखरी जस्तो हुँदैन । त्यसले गतिशीलता लिन्छ, बग्दै जाँदा विकृतिहरु त्यसमा भएका गल्तीहरुलाई सुधार्दै स्वच्छ, पवित्र, सुदृढ र संगठित बनाउँछ ।’ नेता केसीले भने ।
उनले यो विशेष महाधिवेशन पनि संगठित र सुदृढ बनाउनका निम्ति आयोजना गरिएको बताए ।
नेता केसीले जेनजी आन्दोलनले देखाएको भ्रष्टाचारविहीनता, विधीविहीनता र दण्डहीनताबाट देशमाथि उठ्नुपर्ने आफ्नो अपेक्षा रहेको बताए ।
‘जेनजी आन्दोलनले जुन बाटो देखाएको छ, जुन अविश्वास र निराशाको स्थितिबाट विष्फोटन भयो, त्यसलाई सम्बोधन गर्ने काममा यो विशेष महाधिवेशन पूर्ण रुपले सफल रहोस् भन्ने म चाहान्छु,’ नेता केसीले भने,’विधिहीनता, दण्डहीनता र भ्रष्टाचारको दलदलमा फसेको अहिलेको देशको आर्थिक अवस्थालाई परिवर्तन गर्न विशेष महाधिवेशनले विशेष प्रस्ताव पारित गरोस् ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।