काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन केहीबेरमा सुरू हुँदैछ ।
कार्यक्रमस्थल भृकुटीमण्डपमा विभिन्न ठाउँबाट बाजागाजासहित जुलुसहरू आउने क्रम जारी छ । कार्यक्रमस्थल अहिले भरिभराउ देखिन थालेको छ । प्रतिनिधिहरूले ‘अब पालो गगन-विश्व युग’ को भन्दै नारा लगाइरहेका छन् ।
उद्घाटनअघि काठमाडौँको सुन्धारा, रत्नपार्क, शङ्करदेव क्याम्पस, कमलपोखरी, कुपण्डोललगायत क्षेत्रमा नेता, कार्यकर्ता भेला भई र्यालीका साथ भृकुटीमण्डप प्रस्थान गरेका छन् । उक्त र्याली भृकुटीमण्डप पुग्नै लागेको छ ।
उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउनेगरी मञ्च निर्माण गरिएको छ । त्यसैगरी मञ्चको अगाडि खुला चौरमा भने छ हजारभन्दा बढी कुर्सीहरूको व्यवस्थापन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिए । मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ ।महाधिवेशनस्थलमा बीपीदेखि गिरिजासम्म पार्टी सभापतिहरूको पूर्णकदको कट आउट राखिएको छ । वर्तमान सभापति शेरबहादुर देउवाको भने छैन ।
विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेताहरूलाई भने आमन्त्रण गरिएको छैन । मुलुकभरबाट विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश प्रतिनिधि आइसकेको आयोजक समितिले जनाएको छ ।
असोज २९ गते कांग्रेसका ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन मागका साथ केन्द्रीय कार्यालयमा निवेदन दर्ता भएको थियो । विशेष महाधिवेशन पक्षधरले ६० प्रतिशत प्रतिनिधि उतार्ने दाबी गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।