काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचन लागि उम्मेदवार घोषणा गर्दै प्रचार नगर्ने नेता कार्यकर्ताहरूलाई निर्देशन दिएको छ।
उम्मेदवार छनोट सिफारिस उपसमितिले विज्ञप्ति जारी गर्दै प्रत्यक्षतर्फ उम्मेदवारी दिन इच्छुक केही व्यक्तिहरूले औपचारिक आवेदन नदिई वा दिएर पनि सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गरेको पाइएको भन्दै पार्टीले यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको गतिविधिले नयाँ तथा बाँकी आकांक्षी सदस्यहरूलाई निरुत्साहित गर्ने अवस्था सिर्जना भएको हुँदा यस्ता सबै प्रचार–प्रसार कार्य तत्काल रोक्न तथा यसअघि सामाजिक सञ्जालमा राखिएका यस्ता सामग्रीहरू हटाउन निर्देशन गरिन्छ।’
उम्मेदवारका लागि आवेदन दिने सदस्यले आफ्नो आकांक्षा जनाउन सादा फोटोसहित वा बिना फोटो सामाजिक सञ्जालमा एक पटक मात्र पोस्ट गर्न सक्ने व्यवस्था गरिएको उल्लेख छ।
प्राइमरी निर्वाचनमा सहभागी हुने उम्मेदवारहरूले प्राइमरी निर्वाचनसम्बन्धी सूचना प्रकाशित भएपछि मात्र पार्टीको निर्वाचन आचारसंहिता अनुरूप भद्र, मर्यादित र सीमित तरिकाबाट प्रचार–प्रसार गर्न पाउने व्यवस्था गरिएको जनाएको छ।
पार्टीको निर्वाचन आचारसंहिता तथा उपसमितिबाट जारी निर्देशनहरूको पूर्ण पालना गर्न समेत आग्रह गर्दै उम्मेदवार छनोट प्रक्रियालाई निष्पक्ष, व्यवस्थित र समावेशी बनाउने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।