काठमाडौँ – नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्ने भएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग अन्तर्गत भर्ना छनोट शाखाले बिहीवार सूचना प्रकाशित गर्दै योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।
सूचनाअनुसार निर्वाचन प्रहरी पदका लागि खुला प्रतिस्पर्धाबाट भर्ना गरिनेछ। इच्छुक उम्मेदवारले २०८२ पुस २५ गतेदेखि माघ एक गतेसम्म तोकिएका जिल्ला प्रहरी कार्यालय तथा काठमाडौँ उपत्यकाका जिल्ला प्रहरी परिसरहरू (काठमाडौँ, ललितपुर र भक्तपुर) मा दरखास्त दिन सक्नेछन्। दरखास्त बुझाउने समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ।
निर्वाचन प्रहरीमा भर्ना हुन उम्मेदवार नेपाली नागरिक हुनुका साथै सामान्य लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नभएको र शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुपर्नेछ। उमेर हद दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ।
हेर्नुहोस सुचना


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।