काठमाडौँ– नेकपा एमालेले राष्ट्रिय सभाका लागि उम्मेदवारहरु चयन गरेको छ।
माघ ११ गते हुने राष्ट्रिय सभामा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र जसपा नेपालसँगसमेत तालमेलको अवस्थामा एमालेले पाउने ७ सदस्यका लागि उम्मेदवारहरु तय भएका हुन्। एमालेले ६ उम्मेदवार छाने पनि एक उम्मेदवार छान्न बाँकी रहेको बताइएको छ ।
एमालेले कोशी प्रदेशमा रोशनी मेचेलाई उम्मेदवार बनाउने भएको छ। यस्तै, बागमतीमा डा प्रेमकुमार दङ्गाललाई उम्मेदवार बनाइएको छ।
गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाइएको हो। आज राष्ट्रिय सभाका उम्मेदवारको मनोनयन तालिका छ। मधेश प्रदेशको भने नाम तय हुन बाँकी छ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।
आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मंगललबार मतदाता नामावलीमा कुनै दाबी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।