काठमाडौँ– नेपाली कांग्रेसका इतर समूहका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नु पर्ने बताएका छन्।
मंगलबार बिहान आफ्नै विशालनगरस्थित सम्पर्क कार्यालयमा भेट्न पुगेका संस्थापन पक्षीय ३० केन्द्रीय सदस्यसँग डा. कोइरालाले सहमतिमा विशेष महाधिवेशन गर्ने भए पनि माघ ६ गते पछि बोलाउँदा उपयुक्त हुने बताए।
डा. कोइरालाले भने, अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार टुङ्ग्याउनु पर्नेछ। यसकारण विशेष महाधिवेशन पक्षधरहरूसँग छलफल गरेर माघ ६ गतेपछि बेलाउँदा उचित हुने बताए। उनका अनुसार त्यो बेलासम्म राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको मनोनयनका सबै प्रक्रिया सकिन्छन्। यसरी बोलाउँदा एकताको सन्देश पनि जान्छ।
भेटमा डा। कोइरालाले सबैको मनोभावना सम्बोधन हुने गरी केन्द्रीय समितिले विशेष महाधिवेशन डाक्दा सबैलाई मान्य हुने र आफू त्यसको लागिपरेका समेत बताए।
भेटमा केन्द्रीय सदस्यहरू चिनकाजी श्रेष्ठ, डिला सङ्ग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशी, आङगेलु शेर्पासहितका नेताहरू थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।