काठमाडौं– काठमाडौं उपत्यकामा यस वर्षकै हालसम्मको सबैभन्दा कम न्यूनतम तापक्रम मापन भएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार मंगलबार बिहान ८:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस मापन गरिएको हो।
महाशाखाका मौसमविदकाअनुसार आज बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस रहेको थियो, जुन समयक्रमसँगै घट्दै ३ डिग्रीमा झरेको हो। यो हालसम्मकै सबैभन्दा कम तापक्रम भएको मौसमविदले बताएका छन्।
काठमाडौंको तुलनामा ललितपुरको सानेपा क्षेत्रमा झनै चिसो मापन गरिएको छ। मौसमविद उज्ज्वल उपाध्यायकाअनुसार आज बिहान सानेपाको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस रहेको छ, जुन अघिल्लो दिनको तुलनामा ०.५ डिग्रीले कम हो।
न्यूनतम तापक्रम घट्दो क्रममा रहे पनि अधिकतम तापक्रममा भने खासै ठूलो परिवर्तन नआएको ढकालले जानकारी दिए। तराई तथा मधेशका जिल्लामा हिजो घाम लागेकाले अधिकतम तापक्रममा सामान्य वृद्धि देखिएको छ। तर ती क्षेत्रमा बिहानीपख हुस्सु लाग्ने र मध्याह्नपछि खुल्दै जाने क्रम जारी रहेको छ। मौसमविदका अनुसार तराई/मधेशमा हुस्सु केही दिन यस्तै रहने सम्भावना छ।
आज तराईका झापा, रौतहट, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियालगायतका जिल्लामा निरन्तरको बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।