काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सम्पन्न भएको छ । बुधबार बसेको सचिवालय बैठकले विभिन्न ५ वटा निर्णयहरू गरेको हो ।
बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा पार्टीका तर्फबाट समानुपातिकतर्फ उम्मेदवार हुन आवेदन दिएका उम्मेदवारका आकाङ्क्षीहरूको पुस ५ मा भएको छलफलमा विशेष कारणवश सहभागी हुन नसकेका, नपाएका आवेदक सहभागीहरूलाई छलफल प्रक्रिया सहभागी गराउने निर्णय गरिएको छ ।
उनीहरूको प्रारम्भिक निर्वाचन बाहेकका छनोट प्रक्रिया समेत गर्ने सम्मको कार्यको जिम्मेवारी प्रवक्ता मनिष झा र सचिवालय सदस्य दीपक बोहोरालाई तोक्ने समेत निर्णय गरिएको छ ।
पार्टी उपसभापति डा. स्वर्णीम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटीले आवश्यकता अनुसार सो प्रक्रिया अनुगमन गर्ने निर्णय समेत बैठकले गरेको छ ।
प्रवासमा रहेका उम्मेदवारका आकाङ्क्षीहरूको मूल्याङ्कन भर्चुअल विधि मार्फत गर्ने निर्णय समेत गरिएको छ । भर्चुअल प्रक्रियाबाट बन्द सूचीमा पर्ने आवेदकहरू पुस १४ गते बिहान ९ बजे भित्र (निर्वाचन आयोगमा बन्द सूची बुझाउनु अघि) पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुने गरी व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
त्यस्तै उम्मेदवार छनोट समितिको प्रस्ताव र पार्टी उपसभापतिहरू डोल प्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेसँगको सहमतिमा छनोट प्रक्रियामा सहजीकरणको लागि केन्द्रीय समितिका सदस्यहरूलाई सहभागी गराउने निर्णय गरिएको प्रवक्ता मनिष झाले बताए ।
समानुपातिक उम्मेदवार छनोटको लागि हुने प्रारम्भिक निर्वाचनमा मतदान गर्न सदस्यहरूको मापदण्ड निर्धारण गर्ने जिम्मेवारी उम्मेदवार छनोट समितिको प्रस्तावमा पार्टीको निर्वाचन आयोगको प्रतिनिधि र सूचना प्रविधि इकाईका प्रतिनिधि सम्मिलित कार्यदलले गर्न अख्तियारी दिने निर्णय समेत बैठकले गरेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगको सदस्यमा गोकुल सापकोटा र केन्द्रीय संगठन विभागको सदस्यमा शिवराज पन्तलाई मनोनयन गर्ने निर्णय समेत सचिवालय बैठकले गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।