म्याग्दी –म्याग्दीमा यो वर्ष भिरमह उत्पादन ७५ प्रतिशतले घटेको छ । मह सिकारीहरूले विगतको तुलनामा निकै कम मह सङ्कलन भएको बताएका छन् । अन्नपूर्ण गाउँपालिका–५ स्वाँतका मह सिकारी लोकबहादुर पाइजाले गत वर्ष एक हजार लिटर मह निकालेकोमा यसपालि जम्मा २०० लिटर मात्र भएको बताए । उनको टोलीले स्वाँत नजिकको छहरीभिर र छिसको टाउकोमा दुई दिन मह सिकार गरेको थियो ।
हिउँदको खडेरी र मह सिकारको समयमा भएको वर्षातले मौरी चरन क्षेत्रमा जान नसक्दा गोलाको मह खाएकाले उत्पादन घटेको पाइजाले बताए । म्याग्दीको अन्नपूर्ण, रघुगङ्गा र धौलागिरि गाउँपालिकाको लेकाली क्षेत्रमा जेठमा भिरपहरामा मह सिकार गर्ने चलन छ ।
वसन्त र शरद् ऋतु मह सिकारका लागि उपयुक्त समय मानिन्छ। वसन्तमा बेँसी र शरद्मा लेकमा मह सिकार गरिन्छ । धौलागिरि गाउँपालिका–२ खोरीयाका मह सिकारी मोतीप्रसाद पाइजाको टोलीले गत वर्ष दुई हजार लिटर मह निकालेकोमा यस वर्ष ५०० लिटर मात्र निकाल्यो ।
धौलागिरिको गुर्जा, मुदी, रघुगङ्गाको चिमखोला, कुइनेमङ्गले, अन्नपूर्णको हिस्तानका भिरमा मह सिकार गर्ने टोलीहरूले पनि उत्पादन घटेको बताए । खोल्सानजिकको ओसिलो अक्करे पहाडको बीचमा भिरमौरीको वास हुन्छ । वनजङ्गलमा फुल्ने फूल भिरमौरीको आहारा हो । हिउँदमा न्यानो खोज्दै बेँसी झर्ने भिरमौरी गर्मी बढेसँगै माथिल्लो क्षेत्रमा बसाइँ सर्छन् ।
डोरीको सहायताले जोखिमपूर्ण भिरमा झुन्डिएर निकालिने भिरमह प्रतिलिटर तीन हजारदेखि तीन हजार ५०० रुपैयाँमा बिक्री हुन्छ । स्वादिलो, स्वास्थ्यवर्द्धक र शक्तिवर्द्धक मानिने भिरमह धार्मिक कार्यमा पनि प्रयोग हुन्छ ।
विदेश र सहरमा बस्नेहरूले भिरमह कोसेलीका रूपमा लैजान्छन् । भिरमौरीको गोला काट्न मह सिकारी डोरी (पराङ) मा झुन्डिन्छन् । मह निकाल्न भिरको माथि र तल दुई समूहमा सिकारी बाँडिन्छन्। माथिबाट डोरी झुन्ड्याउने र तलबाट मह थाप्ने काम हुन्छ ।
महको चाका वरिपरि मौरी घेरिएर बसेका हुन्छन् । धुवाँ लगाएपछि मौरी भाग्छन् । त्यतिबेला मह निकाल्न विशेष सावधानी चाहिन्छ । पराङमा गएका सिकारीले गोलामा धुवाँ झोस्दा मौरीले टोक्ने डरले अन्य सिकारी रूख र ओडारमा लुक्छन् । मौरी भागेपछि मात्र सिकारीले मह निकाल्न सजिलो हुन्छ । मुख्य सिकारीले हतियारले मह निकालेर डोरीको सहायताले भुइँमा ल्याउँछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।