स्पेन – स्पेनिस ला लिगामा बार्सिलोनाले रियल म्याड्रिडलाई हराएको छ । आइतबार भएको ‘एल क्लासिको’ खेलमा रियल म्याड्रिडलाई ४–३ ले पराजित गर्दै बार्सिलोनाले उपाधि होडमा आफूलाई बलियो बनाएको हो । घरेलु मैदानमा भएको खेलमा बार्साले २–० ले पछि परेको अवस्था उल्ट्याउँदै नाटकीय जित निकालेको हो ।
खेलको सुरुवातमा म्याड्रिडले लगातार दुई गोल गर्दै बार्सिलोनामाथि दबाब बनाएको थियो । फ्रेञ्च स्टार केलियन एम्बाप्पेले खेलमा ह्याट्रिक गरेको थिए । उनको ह्याट्रिकले पनि म्याड्रिडको हार टार्न सकेन ।
एम्बाप्पेले खेलको ५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । त्यस्तै खेलमो १४ औं मिनेटमा ओपन प्लेमा उत्कृष्ट फिनिशसहित गोल गर्दै म्याड्रिडलाई २–० को अवस्थामा पुर्याएका थिए ।
बार्सिलोनाले पहिलो हाफमै पुनरागमन गर्यो । १९ औं मिनेटमा एरिक गार्सियाले कर्नरबाट आएको बलमा लो हेडरमार्फत गोल गर्दै गोलअन्तर घटाए । त्यस्तै ३२ औं मिनेटमा लामिन यामालले दायाँपट्टिबाट शानदार कर्भ शटमार्फत बराबरी गोल गरे ।
खेलको ३४ औं मिेनटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । उनले खेलको ४५औँ मिनेटतिर पुनः गोल थप्दै पहिलो हाफमै बार्सिलोनालाई ४–२ को अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा म्याड्रिडले खेलमा फर्कन प्रयास गर्यो । एमबाप्पेले ७० औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे पनि जित निकाल्न सकेनन् । यो जितसँगै बार्सिलोना ८२ अंकसहित शीर्ष स्थानमा रहेको छ । भने दोस्रो स्थानको रियल मड्रिडको ७५ अंक छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।