काठमाडौं – नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि ललितपुर सिटी र पोखरा थन्डर्स एफसी भिड्दै छन् ।
तेस्रो संस्करण अन्तर्गत आज हुने फाइनल खेल एकदमै रोमाञ्चक हुने अनुमान गरिएको छ । खेल शनिबार साँझ ६ बजे दशरथ रंशगालामा हुनेछ ।
ललितपुर सिटी साविक विजेता टिम समेत हो । पोखराका लागि यो पहिलो फाइनल हो भने ललितपुर दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ । पोखराका प्रशिक्षक सुमन श्रेष्ठले फाइनलका लागि तयार भएको र राम्रो रणनीति बनाएर उपाधि जित्ने विश्वास गरेका छन् ।
उनले भने, ‘हाम्रो टोलीले राम्रो रणनीति बनाएर उपाधि जित्ने विश्वास लिएका छौं । फाइनलका लागि हाम्रो टोलीको राम्रो तयारी छ । सुरुवाती दुई खेलमा पराजित भए पनि पछिल्ला खेलको लयलाई कामय राखेर हामी उपाधि जित्नेमा आशावादी छौं ।’
पोखराका कप्तान नवयुग श्रेष्ठले ललितपुरविरूद्ध प्रतिस्पर्धात्मक खेल हुने र व्यक्तिगत रुपमा अर्थपूर्ण खेल हुने बताए । ललितपुरका प्रशिक्षक साइमन ग्रेसनले पहिलो क्वालिफायर जितेपछि एक साताको तयारी गर्न पाएको र रेस्ट पनि राम्रो भएकाले उपाधि जित्ने विश्वास गरे । उनले आफूहरु आत्मविश्वासी रहेको पनि बताए । ललितपुरका कप्तान अनन्त तामाङले पनि क्वालिफायरपछि एक साताको समय पाएकाले फाइनलका लागि राम्रो तयारी गर्न पाएको बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।