काठमाडौं– मंगलबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १२.६८ अंक बढेको छ।
सो अंकको वृद्धिपछि नेप्से २७४० मा कायम भएको छ।
बजारको परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन १० अर्ब ४ करोडको कारोबार भएकोमा आज १० अर्ब ४३ करोडको भयो।
८७ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो भने ८ को स्थिर रह्यो। यस दिन अन्य समूह सबैभन्दा धेरै ३.६७ प्रतिशत बढ्यो।
यो सेक्टरमा सूचीकृत दुई पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमाको मूल्य क्रमशः ६.८ र ४.३ प्रतिशतले बढ्दा समग्र सेक्टरमा उल्लेख्य वृद्धि देखिएको हो। साथै सो सेक्टरका नेपाल वेयरहाउजिङ, नेपाल टेलिकम, मुक्तिनाथ कृषि कम्पनीको मूल्य पनि बढ्यो।
बैंकिङ ०.२२, लगानी १.२४, जीवन बीमा १.७४, निर्जीवन बीमा ०.३० र व्यापार समूह ०.४१ प्रतिशत बढे। विकास बैंक सेक्टर सबैभन्दा धेरै १.७४ प्रतिशत घट्यो। फाइनान्स १.५, होटल तथा पर्यटन १.०४, हाइड्रोपावर ०.१३, उत्पादन ०.०६, माइक्रोफाइनान्स ०.७९ प्रतिशत घटे।
४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। १० प्रतिशत बढेका कम्पनीमा विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, इमर्जिङ नेपाल र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स छन्। लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य ७.३ प्रतिशत बढ्यो।
सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशत घट्यो। भूगोल इनर्जीको ८.९५, एक्सल डेभलपमेन्टको ५.९९ र बोटलर्स नेपाल बालाजुको मूल्य ५.८ प्रतिशत घट्यो।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, पिपुल्स हाइड्रोपावर र सीईडीबी होल्डिङ्स क्रमश अगाडि देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।