काठमाडौं– सोमबार सेयर बजारको परिसूचक नेप्से २९.८७ अंक (१.१० प्रतिशत) बढेको छ। सो अंकको वृद्धिपछि २७२७ मा कायम भएको छ। नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।
अघिल्लो दिन ९ अर्ब ४७ करोडको कारोबार भएकोमा आज १० अर्ब ४ करोडको भयो। १६६ कम्पनीको मूल्य बढ्दा ७४ को घट्यो भने ४ को स्थिर रह्यो।
बैंकिङ सेक्टरमा आएको उल्लेख्य वृद्धिका कारण यस दिन समग्र बजार बढ्यो। पूँजीकरणका आधारमा सबैभन्दा ठूलो सेक्टर रहेकाले बैंकिङको प्रभाव बढी पर्दछ। यो सेक्टर आज नेप्सेभन्दा बढी २.१६ प्रतिशत बढ्यो।
त्यस्तै विकास बैंक ०.३३, होटल तथा पर्यटन २.२९, लगानी ०.२०, जीवन बीमा ०.८९, उत्पादन ०.७७, माइक्रोफाइनान्स २.४५, निर्जीवन बीमा १.०७ र अन्य समूह २.४७ प्रतिशत बढे। व्यापार १.२७, हाइड्रोपावर ०.१५ र फाइनान्स ०.८४ प्रतिशत घटे।
६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। १० प्रतिशत बढेका कम्पनीमा विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, एक्सल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावर छन्। हालै सूचीकृत गार्डियनको मूल्य प्रतिकित्ता ५८६ रुपैयाँ ३० पैसा पुगेको छ।
सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशत नै घट्यो। सेन्ट्रल फाइनान्सको ४.५, ग्रीन डेभलपमेन्टको ४.२ र बेस्ट फाइनान्सको ३.८ प्रतिशत मूल्य घट्यो।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी, सीईडीबी होल्डिङ्स, एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स फाइनान्स र युनाइटेड इदी मर्दी हाइड्रोपावर क्रमशः अगाडि रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।