काठमाडौं– नेपालले १९ वर्षमुनिको महिला टी–२० क्रिकेटमा पहिलोपटक विश्वकपमा प्रवेश पाएको छ।
बुधबार यूएईमा जारी एसिया क्वालिफायरमा यूएईलाई हराउँदै नेपालले पहिलोपटक महिला क्रिकेटमा यो उमेर समूहमा विश्वकपमा स्थान बनाएको हो।
पहिला ब्याटिङ गर्दै ८४ रनको लक्ष्य पाएको नेपालले १४ दशमलव ४ ओभरमा दुई विकेट गुमाउँदै जित निकाल्यो। नेपालको जितमा ओपनर साना प्रविणले नटआउट ३७ रन बनाउँदा सोनी पाख्रिनले १३ रन बनाइन्। कप्तान पूजा महतोले आक्रामक २१ रन जोडिन्।
नेटरनरेटमा पछि परेका कारण नेपालले यूएईले दिएको उक्त लक्ष्य विश्वकपमा छनोट हुनका लागि १६ दशमलव २ ओभरमा पूरा गर्नुपर्ने थियो। तर नेपालले १४ दशमलव ४ओभरमै लक्ष्य पूरा गर्यो र पहिलोपटक विश्वकपमा क्वालिफाइ भएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन् । त्यस्तै रिनिथा रन्जितले २० रन बनाइन् भने ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए ।
नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन् । उनले कप्तान धर्निधरका सहित ३ खेलाडीलाई एकै ओभरमा आउट गराएकी थिइन् । नेपालका रिया शर्मा र सीमा केसीले २-२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट लिइन् ।
नेपालले अब आगामी वर्ष मलेसियामा हुने आइसिसी यु-१९ महिला टी२० विश्वकप खेल्ने छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।