काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले खेल क्षेत्रको विकासका लागि बजेट बढाउन माग गरेका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकको खेलकुद मन्त्रालयको छलफलमा बोल्दै उनले यस्तो माग गरेका हुन्।
उनले खर्बौंका भ्यूटावरभन्दा खेलकुदको विकासका लागि स्टेडियम बनाउन उचित हुने बताएका छन्। यस्तै सांसद ढकालले नेकपा एमालेका सांसदहरुलाई खर्बौंका भ्यूटावरको लागतले कति स्टेडियम बन्थ्यो? भन्दै प्रश्न गरेका छन्।
उनले भने, ‘एमालेका माननीय ज्यूहरुलाई म सोध्न चाहन्छु। विगतमा बनेका खर्बौंका भ्यूटावरको लागतले कतिवटा स्टेडियम बन्थे होला? भलै यसपाली उहाँहरु जागरुक हुनुभएको छ, यसका लागि धन्यवाद भन्न चाहेँ।’
यस्तै उनले युवा तथा खेलकुद मन्त्रालयको नामबाट युवा शब्द झिक्न पनि माग गरेका छन्। युवाहरुका लागि कुनै पनि कार्यक्रम र योजना नबनाउने हो भने नाम मात्र राखेर उचित नहुने उनको भनाइ थियो।
उनले यतिबेला देशको राष्ट्रिय भावनालाई जोड्ने एक मात्र खेल भएकाले खेलकुदको विकासका लागि ठूला योजनाहरु तत्कालै अघि बढाउन आवश्यक रहेको औंल्याए।
उनले खेलकुद परिषद्को पुनर्संरचना गरी घरेलु प्रतियोगिताहरुसमेत बढाउन आवश्यक रहेकोमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।