काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले आगामी आर्थिक बर्षको बजेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको प्रतिवद्धता अनुरुपको योजना र रकम विनियोजन नदेखिएको बताएका छन्।
बजेट आउनुअघि प्रधानमन्त्री प्रचण्डले तीन करोड, पाँच करोड भन्दा साना योजना संघीय बजेटमा नराख्ने बताएका थिए।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै आजवा अध्यक्ष साहले आफूले भने अनुसार बजेट निर्माण नगर्ने मन्त्रीलाई प्रधानमन्त्रीले हटाउन सक्नुपर्ने सुझाव दिए। अन्यथा, स्वयं प्रधानमन्त्रीमाथि नैतिक प्रश्न उठ्ने उनले बताए।
‘आफूले भनेको चलेको छैन भने कुन मोरलले बस्नुहुन्छ ? चलेको छ भने कसरी उल्लंघन भयो। यदि कुनै मन्त्रीले तपाईंले भनेको मान्नुभएन भने बर्खास्त गर्ने हैसियत राख्नुस्। यदि आफ्नै कुरामा टिक्नुभएको छैन भने तपाईं पनि त्यहाँ बस्न मिल्छ जस्तो लाग्दैन’, उनले भने।
बजेट पहुँचवाला नेता र मन्त्रीको क्षेत्रमा मात्रै पर्ने प्रवृत्ति नियन्त्रण गर्न आवश्यक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।