काठमााडौं– गिरीबन्धु टी-इस्टेटले सर्वोच्च अदालतको फैसलाअनुसार नै आफूहरूले उपयुक्त निर्णय गर्ने बताएको छ। झापाको विर्तामोडमा बुधबार पत्रकार सम्मेलन गरेर गिरीबन्धु टी-इस्टेटका अध्यक्ष छत्र गिरीले गिरीबन्धुबारे सात बुँदे स्पष्टीकरण सार्वजनिक गरेका हुन्।
अदालतले भनेबमोजिम गिरीले आवश्यक प्रक्रिया पूरा गरेर उपयुक्त निर्णय लिने बताए। प्रेस विज्ञप्तिमा पनि यो कुरा उल्लेख छ। ‘सम्मानित अदालतबाट समेत चिया बगानको लागि सट्टा-भर्नाको जग्गाको सुनिश्चतता, मजदुरको रोजीरोटीको समस्याबाट बञ्चित नगर्ने, सट्टा-भर्ना लिने जग्गाको मुल्यको आधार र चिया उत्पादनको लागी हदबन्दी छुट लिएकाले सोही प्रयोजनमा प्रयोग गर्नुपर्छ भनिएकाले आवश्यक प्रक्रिया पूरा गरेर यो सबै विषयको सुनिश्चतता गरेर नै उपयुक्त निर्णयमा यस गिरीबन्धु टी-इस्टेट पुग्ने कुराको जानकारी गराउँदछौं,’ विज्ञप्तिमा उल्लेख छ।
यस्तै गिरीबन्धुले चिया बगान सार्न स्थानीयस्तरमा निरन्तर दबाब आएको र राजनीतिक दलका प्रतिनिधहरूको रोहबरमा सार्ने निर्णय भएको पनि बताएको छ।
‘त्यस क्षेत्रबाट चिया बगान हटाउन निरन्तर जनदबाब आएको र स्थानीय जनताहरुसँग राजनीतिक दलका स्थानीय प्रतिनिधिहरू समेतको रोहबरमा छलफल हुँदा चिया बगान कायम राख तीव्र विरोध आएको कारण उक्त क्षेत्रबाट चिया बगान हटाउनु नै उपयुक्त हुने टुङ्गोमा पुगेर नै उपयुक्त ठाउँमा चिया बगानको व्यवस्था गर्ने गरी, जग्गा सट्टा-पट्टाको लागि निवेदन गरिएको हो,’ विज्ञप्तिमा लेखिएको छ।
कम्पनीले पछिल्लो समय विर्तामोड बजार विस्तार हुँदै जाँदा चिया बगानको दुरूपयोग हुन थालेको पनि बताएको छ। तीव्र गतिमा विर्तामोड बजारको विकास भएको तथा बजार पूर्वतर्फ फैलिँदै गएको, बगानसँगै अस्पताल, विद्यालय र तीव्र बजारीकरणको कारण चिया बगान क्षेत्रमा फोहोर मैला फाल्ने, चियाका बुट्टा काटी दाउराको रुपमा लैजाने गरेको, मृत जनावर फाल्ने ठाँउ बनेकोलगायत गिरीबन्धुले जनाएको छ।
यस्तै चियाको उत्पादन ७० प्रतिशत घटेर चिया मजदुरको रोजीरोटीमा समस्या आएकाले सार्नै पर्ने परिस्थितिमा पुगिएको कम्पनीले जनाएको छ। ‘एउटै स्थानमा लामो समयदेखि चिया बगान रही माटोको उर्वर शक्तिमा ह्रास आएकाले चिया उत्पादनमा ७०% (सत्तरी प्रतिशत) सम्म ह्रास आएको अवस्था भएकाले चिया मजदुरको रोजीरोटीमा समेत समस्या थपिँदै गएको अवस्था छ,’ विज्ञप्तिमा उल्लेख छ।
चिया बगान आफूहरूको निजी सम्पत्ति भएको र चिया बगान निर्माण गर्दा पूर्वपश्चिम राजमार्गसमेत नबनेको भन्दै गिरीबन्धुले महंगोमा सस्तो जग्गा साट्न खोजिएको भनेर भ्रम छरिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।